काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वर्तमान नेतृत्व व्यवस्थापकीय रूपमा पूर्ण असफल भएको आरोप लगाएका छन् । उनले हाल देशैभरि देखिएको विद्युत आपूर्ति समस्याको जड स्रोतको अभाव नभई कमजोर व्यवस्थापन र अदूरदर्शिता भएको दाबी गरेका छन् ।
‘उज्यालो नेपाल अभियान’ लिएर अमेरिका भ्रमणमा रहेका घिसिङले अस्टिनमा आयोजित एक कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन् । उनले पर्याप्त विद्युत उत्पादन हुँदाहुँदै पनि जनताले अघोषित लोडसेडिङ भोग्नुपरेको अवस्था आउनु व्यवस्थापनको चरम असफलताको द्योतक भएको बताए ।
आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य गरी घाटामा रहेको संस्थालाई नाफामा पुर्याएका घिसिङले अहिले भइरहेको घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरे । उनले भने, ‘नयाँ व्यवस्थापन आएपछि राम्रो काम गरिरहेकालाई ‘कुलमानका मान्छे’ भन्दै जिम्मेवारीबाट हटाउन थालियो । देशको समग्र विद्युत प्रणाली सञ्चालन गर्ने भार प्रेषण केन्द्रजस्तो संवेदनशील ठाउँको प्रमुखलाई हटाइयो, पछि प्रणाली नै नचल्ने अवस्था आएपछि उनैलाई फर्काउनु पर्यो । यो भन्दा ठूलो असफलता के हुन्छ ?’
घिसिङले एसियाली विकास बैंकको लगानीमा बन्न लागेको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनालाई समेत वर्तमान व्यवस्थापनले अनिश्चिततातर्फ धकेलेको गम्भीर आरोप लगाए । ‘आयोजनाको लगानी जुटाउन अन्तिम चरणको काम भइरहेको थियो, अहोरात्र खटिएका प्रमुख कार्यकारी अधिकृतलाई बिनाकारण हटाएर सिंगो आयोजनालाई अन्यौलमा पार्ने काम भयो,’ उनले भने ।








