टोकियो – टोकियोको उत्तरी क्षेत्र साइतामा प्रिफेक्चरको ग्योदा शहरमा ढल निरीक्षणका क्रममा चार जना कामदारको मृत्यु भएको छ । उनीहरूले सुरक्षाका लागि आवश्यक कुनै पनि उपकरण नलगाएको उनीहरू कार्यरत कम्पनीले आइतबार स्वीकार गरेको छ ।
ढल सर्वेक्षण गर्ने कम्पनीका अनुसार शनिबार भएको उक्त दुर्घटनास्थलमा खतरनाक मानिने हाइड्रोजन सल्फाइड ग्यासको स्तर राष्ट्रिय मापदण्डभन्दा १५ गुणा बढी पाइएको थियो । स्थानीय सरकारको आग्रहमा यी कामदारहरू आकस्मिक रूपमा ढलको पाइप निरीक्षण गर्न गएका थिए ।
साइतामा शहरमा मुख्यालय रहेको उक्त कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ र मृतकका परिवारसँग माफी मागेको छ । प्रहरीका अनुसार, म्यानहोलभित्र भर्याङबाट तल झर्दै गरेका एक कामदार पहिले बेहोस भएर खसेका थिए । त्यसपछि उनलाई बचाउन गएका अन्य तीन जना पनि एकपछि अर्को गर्दै खसेका थिए ।
स्थानीय समयअनुसार शनिबार बिहान करिब ९:२५ बजे आपतकालीन सेवामा घटनाको खबर पुगेको थियो । करिब १२ मिटर गहिरो उक्त म्यानहोलमा खसेका चारैजना ५० वर्षको उमेर समूहका व्यक्तिहरू थिए । उद्धारकर्मीहरूले उनीहरूलाई बाहिर निकाल्दा सबैको मृत्यु भइसकेको थियो ।
प्रहरीले घटनास्थलमा विषाक्त हाइड्रोजन सल्फाइड ग्यासको उपस्थिति रहेको पुष्टि गरेको छ र यसैका कारण कामदारहरू बेहोस भएको हुन सक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको छ । कम्पनीले पनि घटनास्थलमा कामदारहरूलाई खस्नबाट जोगाउने सुरक्षा पेटी (हार्नेस) वा अक्सिजन मास्कजस्ता अत्यावश्यक सुरक्षा उपकरणहरू उपलब्ध नगराएको स्वीकार गरेको छ ।
यो आकस्मिक निरीक्षण साइतामा प्रिफेक्चरकै अर्को शहर याशियोमा गत जनवरीमा सडक भासिएको घटनापछि देशव्यापी रूपमा पुरानो ढल प्रणाली जाँच गर्ने सरकारी निर्देशनअनुसार गरिएको थियो । उक्त घटनामा पनि एक ट्रक चालकको मृत्यु भएको थियो ।








