टोकियो – रुसको कामचाट्का प्रायद्वीपमा बुधबार गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि जापानमा जारी गरिएका सबै सुनामी चेतावनीहरू जापानको मौसम विज्ञान एजेन्सीले हटाएको छ ।
एजेन्सीले उत्तरी जापानको होक्काइडोदेखि पश्चिमी वाकायामा प्रिफेक्चरसम्मका क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको थियो, तर बुधबार राति नै त्यसलाई सल्लाहमा सिमित गरिएको थियो । बिहीबार पनि केही स्थानहरूमा ठूला छालहरूले तटमा हानिरहेको थियो । बिहीबार बिहान केही सल्लाहहरू हटाइए पनि उत्तरी मुख्य टापु होक्काइडो र उत्तरपूर्वी जापानको प्रशान्त तटीय क्षेत्रमा भने कायमै थियो ।
बुधबारको तुलनामा बिहीबार बिहान कम्तिमा १० स्थानमा ठूला छालहरू रेकर्ड गरिएको थियो, जसमा होक्काइडोको टोकाची बन्दरगाह र इबाराकी प्रिफेक्चरको ओराईमा ७० सेन्टिमिटरसम्म अग्लो सुनामी देखिएको थियो । भूकम्पपछिको सबैभन्दा ठूलो सुनामी बुधबार दिउँसो इवाते प्रिफेक्चरको कुजी बन्दरगाहमा १.३ मिटरको छाल देखिएको थियो ।
जापानका शीर्ष सरकारी प्रवक्ताका अनुसार सुनामीको चेतावनी जारी भएपछि मि प्रिफेक्चरमा एक ५० वर्षीया महिलाको सुरक्षित स्थानमा सर्ने क्रममा मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । गर्मीका कारण बिरामी परेका ११ जनालाई अस्पताल लगिएको थियो । केही रेल सेवाहरू अझै पनि अवरुद्ध भएका छन् । जेआर होक्काइडोले केही खण्डहरूमा पहिलो ट्रेनदेखि नै सेवाहरू निलम्बन गरेको थियो, जबकि होक्काइडोका केही बासिन्दाहरूले रातभरि नै आपतकालीन आश्रयस्थलमा बिताएका थिए ।








