काठमाडौं – फ्रान्स र यूकेपछि क्यानडाले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा औपचारिक मान्यता दिने घोषणा गरेको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले सेप्टेम्बरमा प्यालेस्टाइनलाई राष्ट्रका रूपमा मान्यता दिने योजना रहेको बताएका छन् । विगत केही दिनमा यो प्रकृतिको घोषणा गर्ने क्यानडा जी-सेभेनको तेस्रो मुलुक बनेको छ ।
कार्नीले क्यानडाको कदम हमासको संलग्नताविना अर्को वर्ष चुनाव गराउनेसहित प्यालेस्टिनी अथोरिटीका लोकतान्त्रिक सुधारहरूमा निर्भर गर्ने उल्लेख गरे । प्यालेस्टाइनलाई मान्यता दिने सम्बन्धमा यूकेले घोषणा गरेको भोलिपल्ट र फ्रान्सले योजना सार्वजनिक गरेको एक सातापछि कार्नीको अभिव्यक्ति आएको हो । इजरेली विदेशमन्त्रीले क्यानडाको घोषणा अस्वीकार गर्दै हमासका लागि त्यो पुरस्कार हुने टिप्पणी गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रमध्ये १४७ अर्थात् अधिकांश देशले प्यालेस्टाइनलाई एउटा राष्ट्रका रूपमा औपचारिक मान्यता दिएका छन् । कार्नीले संयुक्त राष्ट्रसङ्घको आउँदो महासभामा क्यानडाले प्यालेस्टाइनलाई राष्ट्रका रूपमा औपचारिक मान्यता दिने बताए । क्यानडाको विदेश नीतिमा परिवर्तन आउनुका पछाडि अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती विस्तार, गाजामा बिग्रिँदै गएको मानवीय अवस्था र सन् २०२३ को अक्टोबर ७ मा इजरेलमाथि हमासको हमला कारण रहेको उनले उल्लेख गरेका छन् । ‘गाजामा मानवीय पीडा असह्य स्तरमा छ र त्यो तेज गतिमा बिग्रिँदै गएको छ,’ बुधवार पत्रकारहरूसँग उनले भने ।
शान्ति प्रक्रियाको एउटा हिस्साका रूपमा क्यानडा लामो समयदेखि दुई राष्ट्र समाधानप्रति कटिबद्ध रहँदै आएको भए पनि कार्नीले भने, ‘अब त्यो दृष्टिकोण तर्कसङ्गत रहेन ।’ ‘प्यालेस्टिनी राज्यको सम्भावना हाम्रा आँखाअगाडि क्षयीकरण हुँदै गइरहेको छ,’ उनले अगाडि थपे ।
विश्वका १४३ देशले प्यालेस्टाइनलाई राज्यको रूपमा स्वीकार गर्छन्, जसमा अरब समूहका देशहरू, इस्लामिक कोअपरेसन अर्गनाइजेसन र असंलग्न आन्दोलनका पक्षधर देशहरू छन् । तर अमेरिका, यूके, फ्रान्ससहित अन्य कैयौँ देशले प्यालेस्टाइनलाई छुट्टै राष्ट्रको मान्यता दिएका छैनन् । प्यालेस्टाइनलाई अलग राष्ट्रको रूपमा मान्यता नदिने देशहरूले इजरेलसँग वार्ता र विवाद समाधान नगरेका कारण मान्यता नदिएका हुन् । -बीबीसी








