समाचार सुन्नुहोस :
काठमाडौँ – पशुपतिनाथ मन्दिरको गोठाटारस्थित बालुवा खानी भ्रष्टाचार प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरू सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गरेका छन्।
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेल, तत्कालीन स्थानीय विकास अधिकारीहरू गोपाल पराजुली, प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ, साथै काठमाडौँ जिविसका तत्कालीन योजना अधिकृत भीष्मकुमार मल्लले उक्त निवेदन दर्ता गरेका हुन्। २०८१ माघ ३० गते सर्वोच्च अदालतले करिब १५ वर्ष लामो मुद्दामा उनीहरूलाई दोषी ठहर गरेको थियो। न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले गोठाटारको जग्गाबाट बालुवा खानी सञ्चालन गर्दा पशुपतिनाथ मन्दिरको सम्पत्ति हिनामिना भएको ठहर गरेको हो।
अब, ती निवेदनहरूको अध्ययनका लागि सर्वोच्च अदालतले बिहीबार पेशी तोकेको छ। न्यायाधीश सपना प्रधान मल्ल, विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले पुनरावलोकनको अनुमति दिने वा नदिने निर्णय गर्नेछ। अनुमति पाएमा मात्र मुद्दाको पुनः सुनुवाइ हुनेछ।








