समाचार सुन्नुहोस :
काठमाडौँ – अष्ट्रेलियाले पहिलोपटक स्वदेशमै निर्माण गरिएको ‘एरिस’ नामक रकेट प्रक्षेपण गरेको छ। यो रकेट बुधबार क्विन्सल्यान्डको बोवेन नजिकको स्पेसपोर्टबाट पृथ्वीको कक्षमा पठाउने लक्ष्यसहित उडाइएको थियो। २३ मिटर लामो रकेट सफलतापूर्वक टावरबाट छुटेर आकाशतिर उडे पनि, उडेको १४ सेकेन्डमै दुर्घटनामा परेको छ।
गिलमोर स्पेस टेक्नोलोजिज नामक कम्पनीले यो रकेट डिजाइन, निर्माण र प्रक्षेपण गरेको हो। रकेट उडेपछि केहीबेर हावामा स्थिरजस्तै देखिएको थियो। सौभाग्यवश, दुर्घटनामा कसैलाई चोटपटक भने लागेको छैन।
कम्पनीले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै रकेट प्रक्षेपणलाई ‘सफल परीक्षण’ भनेको छ। उनका अनुसार रकेटका चारवटा हाइब्रिड–प्रोपेल्ड इञ्जिनहरू सफलतापूर्वक सक्रिय भएका थिए। इञ्जिन बल्न २३ सेकेन्ड लागे पनि रकेट १४ सेकेन्डमै दुर्घटनाग्रस्त भएको हो। यसअघि मे महिनामा प्रक्षेपण गर्ने योजना बनाइए पनि प्राविधिक समस्या र मौसमका कारण जुलाई ३० मा प्रक्षेपण गरिएको हो।








