समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा फेरबदल गर्ने तयारी गरेका छन्। यसका लागि उनले आज सत्ता साझेदार दल नेपाली कांग्रेससँग बालुवाटारमा छलफल गर्ने भएका छन्। बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुवै दलका शीर्ष नेता सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीले मुख्यतः आफ्नै पार्टी एमालेका केही विवादित मन्त्री हटाउने तयारी गरेका हुन्। कांग्रेस भने अहिले आफ्ना मन्त्री फेर्ने तयारीमा छैन। स्रोतका अनुसार एमालेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई हटाउने सम्भावना छ।
यीमध्ये केहीलाई मन्त्री बनाउँदा एक वर्षको समयसीमा तोकिएको र कतिपयको काम सन्तोषजनक नभएकाले फेर्ने तयारी भएको हो। भूमि मन्त्री अधिकारीको घुस मागेको अडिओ सार्वजनिक भएपछि उनी हट्ने निश्चित जस्तै देखिन्छ।
हाल मन्त्रिपरिषद्मा एमालेका ९ जना मन्त्री छन्। आजको बैठकमा प्रधानमन्त्री ओली, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, प्रमुख सल्लाहकार विष्णु रिमाल, कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुनेछन्।








