टोकियो – जापानमा सन् २०२४ मा शिशु भएका ४०.५ प्रतिशत पुरुषले पितृत्व बिदा लिएका छन् । यो लगातार १२औं वर्षको वृद्धि हो र अघिल्लो वर्षको तुलनामा १०.४ प्रतिशतले बढी हो । बुधबार सार्वजनिक एक सरकारी सर्वेक्षणले यो तथ्याङ्क देखाएको हो ।
अक्टोबर १, २०२४ सम्मको एक वर्षे सर्वेक्षण अवधिमा देखिएको यो वृद्धिले जापान सरकारले सन् २०२२ मा ल्याएको पितृत्व बिदा कार्यक्रमको आंशिक सफलता देखाउँछ । यो कार्यक्रमले पुरुषहरूलाई पहिलेको भन्दा सहज रूपमा बिदा लिन प्रोत्साहन गरेको छ ।
यदि यो प्रवृत्ति कायम रहेमा, सरकारले सन् २०२५ सम्ममा ५० प्रतिशत पुरुषलाई पितृत्व बिदामा सहभागी गराउने लक्ष्य पूरा गर्न सक्नेछ । यद्यपि, कम्पनीको आकार र उद्योगको प्रकृतिअनुसार बिदा लिने दरमा ठूलो भिन्नता रहेको छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार, शिशु भएका महिलाहरूमध्ये ८६.६ प्रतिशतले मातृत्व बिदा लिएका छन्, जुन पुरुषको तुलनामा दोब्बरभन्दा बढी हो । धेरै पुरुषहरूले आफ्ना सहकर्मीहरूमा कामको बोझ बढ्ने डरले पितृत्व बिदा लिन हिचकिचाउने गरेको विश्वास गरिन्छ । मन्त्रालयका एक अधिकारीले भने, ‘बिदा लिन चाहने कामदारहरूको इच्छाको सम्मान गर्ने समाज निर्माण गर्नु महत्त्वपूर्ण छ ।’
यो प्रसवोत्तर कार्यक्रमले बुबाहरूलाई बच्चा जन्मेको आठ हप्ताभित्र चार हप्तासम्मको बिदा लिन अनुमति दिन्छ । यो बिदा बच्चा एक वर्षको नहुञ्जेलसम्म लिन पाइने सामान्य अभिभावकीय बिदा बाहेकको हो । सर्वेक्षणअनुसार, कुल ४०.५ प्रतिशत उत्तरदाताले postnatal पितृत्व बिदा, सामान्य अभिभावकीय बिदा वा दुवै लिएका थिए ।








