काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक रूपमा प्रस्तुत हुँदै त्यसले सञ्चालन गरिरहेको हस्ताक्षर अभियानलाई ‘नाटक’ को संज्ञा दिएका छन् । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले चलाएको अभियानप्रति चर्को व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीले अपराध गरेपछि अदालतले कानुनी प्रक्रिया अघि बढाउनुलाई प्रतिशोध भन्न नमिल्ने तर्क गरे ।
मंगलबार कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन गर्दै उनले रास्वपाको हस्ताक्षर अभियानको वैधानिकता र नैतिकतामाथि नै प्रश्न उठाए । ‘तथाकथित हस्ताक्षर क्याम्पेन! मलाई त डर लागेको छ, तीन करोडभन्दा माथि हस्ताक्षर पुग्यो भने के गर्ने ? म उहाँहरूलाई सचेत गराउन चाहन्छु, हस्ताक्षर बढाउँदै जाँदा तीन करोडभन्दा माथि नपुगोस् है, त्यसभित्रै राख्नुहोला,’ ओलीले भने, ‘दुई-चार जनालाई सही गरायो, घरमा गएर दनादन..!’
प्रधानमन्त्री ओलीले रास्वपा सभापति लामिछानेको नाम नलिईकनै आफूले उनलाई राजनीतिमा स्थापित गराएको दाबी गर्दै प्रतिशोधको आरोप खारेज गरे । ‘मैले ल्याएको राजनीतिमा, केको प्रतिशोध ? के साँध्नु थियो ? मैले नै उपप्रधानमन्त्री, गृहमन्त्री बनाएको होइन ?’ उनले भने, ‘गर्ने बेलामा नचाहिने काम गर्ने, अनि पछि लौ प्रतिशोध ! सरकार अदालत होइन, ठगी गरेपछि अदालतले थुन्छ, हामी के गर्नु !’
उनको आक्रोश रास्वपामा मात्र सीमित रहेन । उनले नयाँ दलहरूलाई व्यवस्थाका ‘तरमारा’ को संज्ञा दिँदै पुराना दलहरूले लडेर, जेलनेल भोगे र बलिदान गरेर ल्याएको लोकतन्त्रमाथि रजाईं गरेको आरोप लगाए । ‘अरूले लडेर, निर्वासनमा बसेर, जेलनेल भोगेर, पिटाइ-यातना सहेर ल्याएको लोकतन्त्रमा तर मार्नेहरू ! यिनीहरू व्यवस्थाविरोधी तरमाराहरू हुन्,’ उनले भने ।








