टोकियो – हालैको माथिल्लो सदनको चुनावमा सत्तारुढ गठबन्धनले बहुमत गुमाएपछि जापानी प्रधानमन्त्री शिगेरु इशिबामाथि पद त्याग गर्न चर्को दबाब बढेको छ । उनकै लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) भित्रबाट राजीनामाको माग उठिरहेको हो ।
सोमबार भएको पार्टी बैठकमा धेरै सांसदहरूले उनको राजीनामा मागेका थिए । चुनावी हारले संसदको दुवै सदनमा गठबन्धनको बहुमत गुमेको छ, जसकारण अब सरकारलाई विधेयक पारित गर्न कठिनाइ हुनेछ । यद्यपि, इशिबाले ‘राजनीतिक रिक्तता’ आउन नदिन पदमा रहिरहने अडान लिएका छन् ।
पार्टीभित्र पूर्व प्रधानमन्त्री शिन्जो आबेका समर्थक र गत वर्षको नेतृत्व चुनावमा इशिबाका प्रतिस्पर्धी रहेका प्रभावशाली नेताहरूले उनलाई हटाउन लबिङ गरिरहेका छन् । उनको स्थान लिन सक्ने सम्भावित उम्मेदवारहरू पनि सक्रिय हुन थालेका छन् ।
यस विषयमा जापानी जनता भने विभाजित देखिएका छन् । हालैको एक सर्वेक्षणले ५१.६ प्रतिशत जनता इशिबाको राजीनामाको पक्षमा रहेको देखाएको छ भने ४५.८ प्रतिशतले यसको आवश्यकता नरहेको बताएका छन् ।








