टोकियो – दक्षिणपश्चिम जापानको इमारी शहरमा एक महिलाको घरमा लुटपाट गरी हत्या गरेको आरोपमा एक भियतनामी प्राविधिक प्रशिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । २४ वर्षीय ड्याम डुय खाङ नामक ती युवकलाई आइतबार पक्राउ गरिएको हो ।
उनीमाथि शनिबार ४० वर्षीया जापानी भाषा शिक्षिका माइको मुकुमोतोको हत्या र लुटपाट गरेको आरोप छ । खाद्य प्रशोधन कम्पनीमा कार्यरत खाङलाई सोमबार अभियोजकको जिम्मा लगाइएको थियो । आक्रमणमा परी मुकुमोतोकी ७० वर्षीया आमाको घाँटीमा पनि चोट लागेको छ ।
प्रहरीले घटनास्थल नजिकै रहेको अभियुक्तको छात्रावासबाट रगतले लतपतिएको चक्कु बरामद गरेको छ । पक्राउ परेपछि उनले सोधपुछमा कुनै पनि जवाफ दिन अस्वीकार गरेका छन् ।
अभियुक्त खाङ अन्य भियतनामी सहकर्मीहरूसँगै विदेशी प्रशिक्षार्थी प्रणालीमार्फत जापानमा कार्यरत थिए । उनी कार्यरत खाद्य प्रशोधन कम्पनीका एक अधिकारीले भने, ‘उनी आफ्नो काममा गम्भीर थिए र कहिल्यै पनि बिनाअनुमति अनुपस्थित भएनन्, त्यसैले उनको गिरफ्तारीले मलाई आश्चर्यमा पारेको छ ।’
प्रहरीका अनुसार, शनिबार दिउँसो करिब ४:२० बजे अभियुक्त मुकुमोतोको घरमा प्रवेश गरेका थिए । घरको ढोकाको घण्टी बजाएपछि मुकुमोतोकी आमाले ढोका खोल्दा उनी चक्कु बोकेर जबरजस्ती भित्र पसेका थिए । घरको डोरबेल क्यामेरामा मास्क लगाएका व्यक्तिको तस्बिर कैद भएको थियो, जसलाई प्रहरीले अभियुक्त मानेको छ ।
भित्र पसेपछि उनले जापानी भाषामा पैसा भन्दै धम्की दिएका थिए । मुकुमोतोले उनलाई १०,००० येन दिए पनि अभियुक्तले धम्की दिन नछोडेपछि थप १,००० येन दिएको बताइएको छ । यस क्रममा उनले मुकुमोतोको घाँटी रेटेर हत्या गरेका थिए भने शरीरका अन्य भागमा पनि चोट पुर्याएका थिए । पोष्टमार्टम रिपोर्ट अनुसार, घाँटी र पेटमा धेरै पटक चक्कु प्रहार गरिएका कारण अत्यधिक रक्तश्रावबाट मुकुमोतोको मृत्यु भएको हो ।
लुटपाट र हत्यापछि उनी हतियारसहित भागेका थिए । घाइते भएकी आमा भागेर छिमेकीको घरमा पुगी प्रहरीलाई खबर गर्न लगाएकी थिइन् । प्रहरी घटनास्थल पुग्दा मुकुमोतो रगतले लतपतिएको अवस्थामा मृत फेला परेकी थिइन् ।








