समाचार सुन्नुहोस :
काठमाडौँ – उपसभामुख इन्दिरा राना चीनको ६ दिने औपचारिक भ्रमण सकेर हिजो राति नेपाल फर्किएकी छन्। उनी चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर आइतबार राति ११:३० बजे स्वदेश फर्किएकी हुन्। उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म साङ्घाई सहयोग मञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन्।
सो कार्यक्रममा उनले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” भन्ने विषयमा सम्बोधन गरेकी थिइन्। त्यस्तै, उनले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गरेकी थिइन् र झेङझोउ सहरसहित विभिन्न स्थानहरूको अवलोकन भ्रमणसमेत गरेकी थिइन्।
उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदीश न्यौपाने पनि सहभागी थिए। दुई सदस्यीय यो टोली साउन ६ गते चीन प्रस्थान गरेको थियो।








