टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, जापानको २०२५-२०२७ कार्यकालका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा सुवास लामिछाने विजयी भएका छन् । आइतबार सम्पन्न भएको अनलाइन मतदानको मतगणना परिणामअनुसार, लामिछानेले आफ्ना निकटतम प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठलाई १९ सय ५९ मतको फराकिलो अन्तरले पराजित गर्दै नयाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त तिलक मल्लद्वारा सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार, विजयी लामिछानेले कुल ७ हजार १ सय ५२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी श्रेष्ठले ५ हजार १ सय ९३ मतमा चित्त बुझाए । उत्साहजनक रूपमा १२ हजार ३ सय ४५ मत खसेको यस निर्वाचनमा दुई वर्तमान उपाध्यक्षबीचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको थियो, जसमा अन्ततः लामिछानेले बाजी मारेका हुन् ।
खरेल वरिष्ठ उपाध्यक्ष र शितल महासचिवमा निर्वाचित
त्यसैगरी, अन्य प्रमुख पदहरूमा पनि तीव्र प्रतिस्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष पदमा टीका राम खरेल ६ हजार ४ सय १८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कृष्ण गैरै शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरे ।
महासचिव जस्तो महत्त्वपूर्ण पदमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) विजयी भएका छन् । उनले ६ हजार ३ सय ८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत पाए ।
निर्वाचन समितिले शान्तिपूर्ण र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न भएको जनाएको छ । समितिका सदस्य-सचिव भूपिगोविन्द श्रेष्ठले कार्यक्रम सञ्चालन गर्दै निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।एनआरएनए आईसीसीका उपाध्यक्ष रविन शेरचनले आफ्नो मन्तव्यमा निर्वाचन प्रक्रिया अत्यन्तै सौहार्दपूर्ण र निष्पक्ष भएको बताउँदै सम्पूर्ण उम्मेदवार तथा मतदाताहरूलाई धन्यवाद दिए । उनले भने, ‘यो निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको छ । आएको परिणामलाई सबैले सहर्ष स्वीकार गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु । अब हामी सबै एक भएर जापानको एनआरएनएलाई अझै बलियो बनाउन लाग्नुपर्छ ।’
नयाँ कार्यसमिति निर्वाचित भएसँगै अब जापानवासी नेपाली समुदायले संस्थाबाट एकता, सहकार्य र प्रभावकारी कार्यक्रमहरूको अपेक्षा गरेको छ । नवनिर्वाचित अध्यक्ष सुवास लामिछाने र उनको टिमसामु चुनावी एजेन्डाहरूलाई कार्यान्वयन गर्दै सबैलाई मिलाएर लैजानुपर्ने चुनौती र अवसर दुवै रहेको छ । निर्वाचनमा देखिएको उत्साहजनक सहभागिताले एनआरएनए जापानप्रतिको समुदायको विश्वास र अपेक्षालाई स्पष्ट पारेको छ ।








