Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानका युवाहरू एक हजार येन (७ अमेरिकी डलर) भन्दा बढी मूल्य पर्ने रामेन नुडल्सका लागि तिर्न तयार देखिएका छन् । हालै गरिएको एक सर्वेक्षणले यो तथ्य बाहिर ल्याएको हो ।

सर्वेक्षणको नतिजाले रामेन सुपको सस्तो र सुलभ खानाको पहिचानलाई परिवर्तन गरेको छ । रेस्टुरेन्ट खोज्ने वेबसाइट सञ्चालक गुरुनाभी इंकले जुन महिनामा गरेको अनलाइन सर्वेक्षणमा २० देखि ६० वर्ष उमेर समूहका १,३०० मानिसलाई समावेश गरिएको थियो ।

सर्वेक्षणमा सहभागी ५६.३ प्रतिशतले एक कचौरा सामान्य रामेनको उचित मूल्य ७०० देखि ८०० येन हुनुपर्ने बताएका थिए । यस्तै, ३३.७ प्रतिशतले आफूहरूले बढीमा १,००० येनसम्म तिर्न तयार रहेको उल्लेख गरे ।

रामेन रेस्टुरेन्ट सञ्चालकहरूले उत्पादन लागत बढेकाले ग्राहकलाई मूल्य बढाउने उपाय खोजिरहेका बेला युवा पुस्ताले भने महँगो मूल्य तिर्न खासै हिचकिचाहट नदेखाएको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणअनुसार, २० को दशकका ५८.४ प्रतिशत उत्तरदाताले एक कचौरा रामेनका लागि १,००० येनभन्दा बढी तिर्न तयार रहेको बताए । उनीहरूमध्ये १९.७ प्रतिशतले त सामान्य रामेनकै लागि पनि कम्तिमा १,००० येन उचित मूल्य भएको ठानेका छन्, जुन अन्य उमेर समूहको तुलनामा निकै बढी हो ।

एक २० वर्षीय उत्तरदाताले सर्वेक्षणमा लिखित जवाफ दिँदै भने, ‘रामेन बनाउन लाग्ने मिहिनेतको तुलनामा यसको मूल्य निकै सस्तो छ जस्तो लाग्छ ।’ यसको ठीकविपरीत, ५० को दशकका उत्तरदाताहरू, जसमा पुरुषहरू सबैभन्दा बढी रामेन खाने गरेको पाइयो, केवल ३६.५ प्रतिशत मात्र १,००० येनभन्दा बढी तिर्न तयार देखिए । सबै उमेर समूहका ९३.७ प्रतिशत उत्तरदाताले हालै रामेनको मूल्य बढेको महसुस गरेको बताएका छन् । ४१.६ प्रतिशतले त दुई-तीन वर्षअघिको तुलनामा रामेन खान बाहिर जाने क्रम घटाएको पनि उल्लेख गरे ।

ग्राहकहरूले मूल्य वृद्धिको महसुस गरे तापनि केही रामेन रेस्टुरेन्ट सञ्चालकहरूले बजारमा राम्रो वृद्धि गरिरहेका छन् । तेइकोकु डाटाबैंक लिमिटेडका अनुसार, आर्थिक वर्ष २०२४ मा रामेन रेस्टुरेन्टहरूको बिक्री करिब ७९० अर्ब येन (५.४ अर्ब डलर) पुग्ने अनुमान छ, जुन २०१४ को तुलनामा करिब ५६ प्रतिशतले बढी हो । सोही अवधिमा प्रमुख चेन रेस्टुरेन्टहरूको संख्या पनि बढेर २०२४ मा अनुमानित ६,२०० पुगेको छ, जुन १,२०० को वृद्धि हो ।

जुलाईमा प्रकाशित एक प्रतिवेदनमा तेइकोकु डाटाबैंकले विदेशी पर्यटकहरूमाझ रामेनको बढ्दो मागले प्रमुख चेनहरूलाई रेस्टुरेन्ट खोल्न र बढ्दो उत्पादन लागतलाई जित्दै बिक्री बढाउन सक्षम बनाएको बताएको छ । सञ्चालकहरूले सीमित समयका लागि विशेष परिकारहरू र सेट मेनु विस्तार गरेर १,००० येनको मूल्य अवरोधलाई पार गर्न सफल भएको पनि प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया