काठमाडौं – उज्वेकिस्तानमा सम्पन्न एएफसी एसियन कप छनोटमा सानदार प्रदर्शन गरेर फर्किएकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले नेपालको घरेलु फुटबल संरचनामाथि गम्भीर प्रश्न उठाएकी छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) व्यावसायिक बन्न नसकेको र तीन विभागीय टोलीको भरमा मात्र महिला फुटबल टिकेको तीतो यथार्थ पोखेकी हुन् ।
सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान सावित्राले घरेलु लिगको दुरवस्थाले महिला फुटबलको विकासमा बाधा पुगेको बताइन् । ‘एन्फा जुन व्यावसायिक रूपमा जानुपर्ने हो, त्यो रूपमा जान सकेको छैन,’ उनले भनिन्, ‘यदि हामीले बाहिरी देशमा जस्तै ६ देखि ८ महिनाको व्यावसायिक लिग सञ्चालन गर्न सक्यौँ भने मात्र महिला फुटबलको आकर्षण बढ्छ र समर्थकहरू पनि मैदानसम्म आउँछन् ।’
उनले राष्ट्रिय टिमलाई टिकाइराख्न विभागीय टोलीहरूको भूमिका निर्णायक रहेको बताउँदै अन्य क्लबहरूको अवस्था दयनीय रहेको औँल्याइन् । उनको भनाइमा एन्फाको संरचनाभित्रका अन्य क्लबहरू निकै कमजोर छन्, जसले गर्दा राष्ट्रिय प्रतिभाको पहिचान र विकासमा असर परेको छ । ‘मलाई प्रस्टसँग लाग्छ, आजको दिनसम्म यी तीनवटा विभागीय टोली (नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी) नभएको भए नेपाली महिला राष्ट्रिय फुटबल टिमको अस्तित्व नै रहँदैनथ्यो,’ कप्तान सावित्राले भनिन्, ‘राष्ट्रिय टिमलाई धान्ने मुख्य आधार नै यही हो ।’
उज्वेकिस्तानमा भएको छनोट प्रतियोगितामा नेपालले लाओसलाई ९-० र श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको थियो । अन्तिम तथा निर्णायक खेलमा आयोजक उज्वेकिस्तानसँग निर्धारित समयमा ३-३ को रोमाञ्चक बराबरी खेलेको नेपाल पेनाल्टी सुटआउटमा ४-२ ले पराजित हुँदै बाहिरिएको थियो ।








