Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – नेपाली किक बक्सिङका कीर्तिमानी खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले खेल जीवनको अर्को ऐतिहासिक अध्याय थप्ने तयारी गरेका छन् । विश्वकै प्रतिष्ठित ‘के-वान विश्व म्याक्स टुर्नामेन्ट’मा प्रतिस्पर्धा गर्न उनी आगामी सेप्टेम्बर ७ मा जापानको टोकियोस्थित रिङमा उत्रँदैछन् । नेपालको झण्डा फहराउँदै नयाँ इतिहास रच्ने लक्ष्यका साथ उनी विशेष प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

विश्वप्रसिद्ध ‘के-वान ग्रुप’द्वारा आयोजित यो प्रतियोगिता किक बक्सिङ जगतकै सबैभन्दा कठिन र प्रतिष्ठित मानिन्छ। यस प्रतियोगितामा अविरलले चीन, बुल्गेरिया, नेदरल्याण्ड, ब्राजिल, पोल्याण्ड र अर्मेनियाका विश्वस्तरीय बक्सरहरूसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस महत्वपूर्ण भिडन्तको तयारीलाई अझ सशक्त बनाउन उनी जापानबाट थाइल्याण्डको फुकेटस्थित प्रसिद्ध ‘मोथाई क्लब’मा आफ्नै खर्चमा विशेष प्रशिक्षण लिन गएको उनका पिता एवं प्रशिक्षक देव घिमिरेले जानकारी दिए ।

छोराको खेल जीवनको यो महत्वपूर्ण मोडमा पूर्ण रूपमा समय दिनुपर्ने भएकाले आफू जापानमा आबद्ध सम्पूर्ण संघसंस्थाको जिम्मेवारीबाट अलग रहने निर्णय गरेको पनि पिता देव घिमिरेले बताएका छन् । नागोयाको एनआरएनए लगायतका संस्थामा सक्रिय उनी अब छोराको सपना साकार पार्न पूर्ण रूपमा समर्पित हुनेछन् ।

अविरल घिमिरेले यसअघि नै अन्तर्राष्ट्रिय किक बक्सिङमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन् । जापानको ओसाकामा सम्पन्न ‘के-वान क्रस १७५’ को उपाधि जितेर उनले सनसनी मच्चाएका थिए । उक्त प्रतिस्पर्धात्मक खेलमा उनले जापानी च्याम्पियन ओडा जिन्कीलाई दोस्रो राउण्डमै परास्त गर्दै विश्व च्याम्पियनको ताज पहिरिएका थिए । उनी ‘इन्टरनेसनल किक बक्सिङ (इस्का)’ र ‘हिट’ जस्ता प्रतिष्ठित प्रतियोगिताको टाइटल बेल्ट जित्ने पहिलो र एकमात्र नेपाली खेलाडी हुन् ।काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारा, बलम्बूका स्थायी बासिन्दा अविरल हाल आफ्ना माता-पिताका साथ जापानको नागोयामा बस्दै आएका छन् । उनको यो यात्रामा पिताको प्रेरणाले विशेष महत्व राख्छ । उनका पिता देव घिमिरे स्वयं एक कुशल कराँते खेलाडी हुन् र सन् २००४ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘के-वान प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडीको कीर्तिमान उनकै नाममा छ ।

‘बुबाको प्रेरणा, आमाको आशीर्वाद र सम्पूर्ण अग्रजहरूको माया अनि मेरो आफ्नै कडा मिहिनेतले आज म यो स्थानमा आइपुगेको हुँ,’ अविरलले आफ्नो सफलताको श्रेय परिवार र शुभचिन्तकलाई दिँदै भने । अब उनको नजर विश्वकै सबैभन्दा प्रतिष्ठित ‘के-वान म्याक्स’ को उपाधिमा छ ।

तपाईको प्रतिक्रिया