काठमाडौं – आइसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत वर्षाले प्रभावित खेलमा नेपालले बहराइनलाई ६ विकेटले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ । यस जितसँगै नेपाल समूहको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको छ ।
बर्षाले छोट्याइएको खेलमा बहराइनले दिएको ५६ रनको लक्ष्य नेपालले ७ ओभरमै ४ विकेट गुमाएर पुरा गर्यो । कप्तान इन्दु बर्माको आक्रामक ब्याटिङ नेपालको जितको आधार बन्यो । उनले ७ बलमा २४ रन बनाउँदा ४ चौका र १ छक्का प्रहार गरिन् । साथै पुजा महतोले ११ बलमा १३ रन जोड्दै जितमा साथ दिइन् । ओपनर सम्झना खड्का ५ रनमा आउट भइन् । बहराइनकी पवित्रा शेट्टीले प्रभावशाली बलिङ गर्दै ३ विकेट लिइन् ।
त्यसअघि, बहराइनले १२.४ ओभरमा ७६ रनमा ३ विकेट गुमाएको अवस्थामा वर्षाले खेल अवरुद्ध गर्यो । रासिका रोड्रीगोले २९ बलमा २४ रन जोड्दै बहराइनलाई सशक्त सुरुवात दिलाएकी थिइन् ।
नेपालले यो जितसँगै ४ खेलमा २ जित, १ हार र १ रद्द खेलका साथ ५ अंक बनाउँदै शीर्ष स्थानमा स्थान बनाएको हो । हङकङको ३ खेलमा ४ अंक रहेको छ भने बहराइनको ३ खेलबाट मात्र १ अंक छ । अब समूह चरणको अन्तिम खेल शुक्रबार बहराइन र हङकङबीच हुनेछ । हङकङ पराजित भए मात्र नेपाल सुपर थ्रीमा प्रवेश गर्न सक्नेछ ।
यस प्रतियोगितामा सहभागी ९ टोली ३ समूहमा विभाजित छन् । प्रत्येक समूहको विजेता सुपर थ्री चरणमा प्रवेश गर्नेछन् ।