काठमाडौं – फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ । १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो ।
दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो । म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे । म्यानमार अपराजित रहन पनि सफल भयो । पहिलो हाफमा नेपालले म्यानमारलाई दबाबमा राख्न सफल भयो । गोल गर्ने केहि उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन् । दोस्रो हाफमा म्यानमारले रवाफिलो प्रदर्शन गर्यो ।
नेपालले खेलेको यो १३ औं फाइनल हो र ती सबैमा नेपाल पराजित रहेको छ । नेपालले म्यानमारको सामना गरेको यो छैटौं खेल हो । यसमध्ये नेपालले अहिलेसम्म कुनै पनि जित निकाल्न सकेको छैन । नेपालको चार दशकयता पहिलो उपाधि जित्ने सपना अधुरै रहेको छ । सन् २०१९ मा भारतको भुवनेश्वरमा भएको हिरो गोल्डकपको फाइनलमा पनि म्यानमारले नेपाललाई नै हराएको थियो ।