काठमाडौं – घरेलु मैदानमा जारी नेपाली महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको हो ।
खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो । नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३० रन बनाइन् ।
त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा नेदरल्यान्ड्ससँगै २० रनको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपाललाई थाइल्यान्डले चार विकेटले हराएको थियो । नेपालले अब मंगलबार थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ ।








