काठमाडौं – विगत १५ वर्षदेखि लगातार सत्तामा सम्हाल्दै आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद देशबाटै लखेटिएकी छिन् । विश्वमै धेरै शासन गर्ने महिला प्रधानमन्त्री हसिना सभापति रहेको अगावी लिगले २०२४ को जनवरीमा भएको निर्वाचनमा २२२ सिट प्राप्त गरेको थियो ।
बंगलादेशमा ३५० सदस्यीय संसदमा ३०० सिटमा प्रत्यक्ष निर्वाचित हुन्छन् भने ५० सिटमा समानुपातिक एवम् आरक्षणबाट चुनिने संवैधानिक व्यवस्था छ । निर्वाचन र आरक्षण गरी हसिनाको पार्टीको २ सय ७२ सिट छ । यो दुईतिहाइभन्दा झण्डै २७ सिट बढी हो । तर यो चुनाव विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बहिस्कार गरेको थियो ।
दुईतिहाइभन्दा झण्डै २७ सिट प्राप्त दलका सभापति तथा प्रधानमन्त्री हसिनाले सोमबार देशवासीको नाममा सम्बोधनको अवसर समेत पाइनन् । हतार हतार राजीनामा दिँदै देशै छाडेर भाग्न बाध्य भइन् । सेनाको सहयोगमा हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गरिन् ।
प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना र उनकी बहिनी मुलुकमा जारी आन्दोलनका बीच बांग्लादेशबाट भागेका हुन्। हसिनाको राजीनामाको समाचारलाई लिएर ढाकामा प्रदर्शनकारीले हर्षोउल्लाससाथ खुशियाली मनाएका छन् । उनी ढाकाबाट भागेको खबर आएपछि धेरै मानिस प्रधानमन्त्रीको आधिकारिक निवास गणभवनमा प्रवेश गरेका थिए। प्रदर्शनकारीले गणभवनको मैदानमा हात उठाएर खुशियाली मनाएका थिए ।
सोमबार नै देशवासीका नाममा सम्बोधन गर्दै बांग्लादेशका सेना प्रमुख जनरल वकार-उज-जमानले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदै अब अन्तरिम सरकार गठन हुने बताएका छन् । उनले सबै प्रदर्शनकारीलाई शान्ति र व्यवस्था कायम गर्नका लागि सहयोग गर्न पनि आग्रह गरे । ‘मुलुकमा शान्ति र व्यवस्था कायम गरौँ, मलाई विश्वास गर्नुहोस्, आउनुहोस् मिलेर काम गरौँ’, उनले भने, ‘कृपया सहयोग गर्नुहोस्, लडाइँले केही प्राप्त हुँदैन, द्वन्द्वबाट बचौँ, हामीले मिलेर सुन्दर देश बनायौँ ।
‘शेख हसिनाको उदय
शेख हसिनाको जन्म सन् १९४७ मा पूर्वी बंगालको मुस्लिम परिवारमा भएको थियो । उनी राजनीतिज्ञ परिवारमा जन्मिएकी थिइन् । उनका पिता शेख मुजीबुर रहमान राष्ट्रिय छबिका नेता थिए । उनकै नेतृत्वमा सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट अलग भएको थियो । ‘राष्ट्र पिताका’ उपमासमेत पाएका रहमान बंगलादेशको पहिलो राष्ट्रपति समेत भए ।
शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो । त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए । त्यसपछि उनीहरु निर्वासनमा बस्न भारत गए । सन् १९८१ मा उनीहरू स्वदेश फर्किए । उनको बुबाको पार्टी आवामी लिगको नेता भइन् । उतिबेला बंगलादेशमा सैनिक शासन चलिरहेको थियो । सेना प्रमुख हुशैन मुहम्मद इर्साद सैनिक शासन हाँकिरहेका थिए । सैनिक शासनविरुद्ध उनले त्यतिबेलै आन्दोलन छाडेकी थिइन् ।
बंगलादेशका अन्य राजनीतिक दलहरूसँग सहकार्य गरेर उनले सेनाको काम कारबाहीको विरोधमा सडकमा उत्रिएकी थिइन् । उक्त आन्दोलनले शेख हसिनालाई छिट्टै उनलाई जनतमाझ चिनाएको थियो । दसक बढी राजनीतिक लडाइँपछि हसिना पहिलोपटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन् । हसिना सन् १९९६ मा पहिलोपटक देशको प्रधानमन्त्री बनेकी थिइन् । सन् २००९ मा पुनः निर्वाचित भएपछि उनी निरन्तर बंगलादेशको सत्तामा छिन् । सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौथोपटक निर्वाचित भएकी थिइन् ।
आरक्षण विरोधी आन्दोलनबाट उठेको आन्दोलन
बंगलादेशको उच्च अदालतले ५ जुनमा बंगलादेशको स्वतन्त्रता आन्दोलनका सेनानीका आफन्तहरुलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने आदेश सुनाएको थियो । सन् २०१८ मा हटाइएको प्रावधानविरुद्ध परेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले आरक्षण दिने आदेश जारी गरेको थियो ।
तर, स्वतन्त्रताको लडाइँ जोडिएकाहरुको नाती पुस्तालाई सुविधा दिने गरी भएको आरक्षणको व्यवस्था भेदभावपूर्ण भएको भन्दै विद्यार्थीहरुले विरोध थालेका थिए । यस विरुद्ध विद्यार्थीहरू आन्दोलमा उत्रिए । बंगलादेशमा केही सरकारी पदमा महिला, जातीय अल्पसंख्यक र शारीरिक रूपमा अपांगता भएका व्यक्तिका लागि पनि आरक्षणको व्यवस्था छ । एकतिहाइ पदहरू भने ‘युद्धको समयका नायक’ वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्याइने गरेको थियो । आन्दोलनमा उत्रिएका विद्यार्थी उक्त व्यवस्था भेदभावपूर्ण भएको बताउँदै सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने बताउँदै आन्दोलन गरेका थिए ।
सन् २०१८ मा गरिएका विरोध प्रदर्शनपछि हसिना नेतृत्वको सरकारले त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो । तर गत ५ जुनमा अदालतले त्यस्तो प्रणालीलाई पुनस्र्थापना गरेपछि विद्यार्थी पुनः आन्दोलनमा उत्रेका हुन् ।
बंगलादेशको सर्वोच्च अदालतले हालको आरक्षण प्रणालीलाई एक महिनाका लागि निलम्बन गरिदिएको थियो । तर उक्त प्रणाली खारेज नभएसम्म विद्यार्थी आन्दोलन जारी राखे । यससम्बन्धी मुद्दामा अगस्ट ७ मा अदालतमा सुनुवाइ हुँदै थियो । तर त्यो अघि नै आन्दोलनकारीसँग प्रहरी र अवामी लिगका कार्यकर्ताहरूको झडपका घटना भए । उक्त घटनाहरू बढ्न थालेपछि आन्दोलनको माग हसिनाको राजीनामातर्फ केन्द्रित भयो ।
‘हेपिएकाहरु’ जुरुक्कै उठेपछि
आरक्षणबाट बिरोधी आन्दोलनको रुपमा सुरुवात भएपनि पछिल्लो समयमा उनले अभ्यास गरेको अधिनायकवाद विरुद्धको आक्रोश थियो । बंगलादेशमा लोकतन्त्रको आवरणमा अधिनायकवाद हुर्किरहेको थियो । आवधिक निर्वाचन भनिए पनि शेख हसिनाले ‘नियन्त्रित लोकतन्त्र’को अभ्यास गरीरहेकी थिइन् । बंगलादेश उकुसमुकुस पछिल्लो समयमा ‘आरक्षणविरोधी आन्दोलन’को आडमा जुरुक्कै उठ्यो ।
बंगलादेश गत जनवरीमा भएको निर्वाचनमा मुख्य विपक्षी दल बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी बीएनपीले निर्वाचन बहिष्कार गरेको थियो । बीएनपीले निर्वाचनलाई नाटक भनेको थियो । पछिल्लो चुनावमा पनि सबै विपक्षीलाई जेलमा थुनेर आफ्ना पकेटका मान्छेलाई विपक्षीका रूपमा खडा गरेर हसिनाको पार्टीले चुनाव जितेको हो । उनले विपक्षीमाथि सरकारले राज्यसंयन्त्र प्रयोग गर्दै मार्ने, जेल हाल्ने र अनेकन् दुःख दिने गर्दै आएकी थिइन् ।
उनी सत्तामा आएपछि सुरक्षाकर्मीद्वारा थुप्रैको गैरन्यायिक हत्या भएको, बेपत्ता पारिएको र धरपकड गरिकएको रिपोर्टहरू सार्वजनिक भए । यी आरोपहरूलाई प्रधानमन्त्री हसिनाले नकार्दै आएकी छन् । विदेशी पत्रकारलाई पनि यस खालको रिपोर्टिङमा प्रतिबन्ध लगाएकी छन् ।
पछिल्लो तीन सातादेखि चर्किएको आन्दोलनमा अहिलेसम्म ३०० भन्दा बढी प्रदर्शनकारीको ज्यान गएको छ । त्यस्तै, तीन हजार ५०० भन्दा बढी घाइते भएका छन् । आन्दोलनका क्रममा सुरक्षाकर्मीले ११ हजारभन्दा बढीलाई पक्राउ गरेको छ । एजेन्सीहरुको सहयोगमा








