काठमाडौं – अदालतमा आत्मसमर्पण गरेका अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गृहराज्य फ्लोरिडा फर्किका छन् । मंगलबार अपराह्न म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका उनी मुद्दाको सुनुवाइपछि फ्लोरिडा फर्किका हुन् ।
ट्रम्पले झुटा व्यावसायिक विवरण तयार पारेको, आफूसँगको सम्बन्धबारे मौन बस्न स्टोर्मी ड्यान्यल्स नामक पोर्न स्टारलाई ठूलो रकम दिएको भनिएका बिषयमा लगाइएका विभिन्न अभियोगह आफू दोषी नरहेको दाबी अदालतमा गरेका छन् । अदालतमा उनीविरुद्धको मुद्दाको सुनुवाइ डिसेम्बर ४ मा तोकिएको छ ।
दिउँसो १ बजेपछि उनी ट्रम्प टावरबाट निस्किएर अदालततिर गएका थिए । कार चढ्नुअघि उनले सञ्चारकर्मीहरूतिर फर्केर क्यामरातर्फ हेर्दै हात हल्लाएका थिए ।
यो पनि : जब डोनल्ड ट्रम्प पक्राउ परे (तस्बिरहरू)
उनको गाडी केही मिनेटमै अदालत पुग्यो । ‘निकै अवास्तविक लाग्छ- वाउ, उनीहरूले मलाई पक्राउ गर्नेछन्,’ ट्रम्प टावरबाट गाडी चढेर म्यान्ह्याटन क्रिमिनल कोर्टहाउस जाँदै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा लेखे ।
अदालतमा प्रवेश गर्दा उनी शान्त र गम्भीर मुद्रामा थिए। बेलाबेलामा उनले बाहिर जम्मा भएको भिडतिर हेरेर हात हल्लाएका थिए । अदालतभित्र छिरिसकेपछि उनले अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे अनि उनीविरुद्ध मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढ्यो ।
पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन । अदालतभित्र उनी आफ्ना वकिलहरूको टोलीसँगै न्यायाधीशका अगाडि बसे। त्यसपछि उनले आफ्नो दलिल पेस गरे । झन्डै एक घण्टाको सुनुवाइपछि ट्रम्प स्थानीय समयानुसार दिउँसो ३:३० बजेपछि अदालतबाट बाहिरिए । -बीबीसी








