काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका शिक्षाध्यक्ष (रेक्टर) डा.श्रीकृष्ण गिरीले विद्यार्थीका लागि आएको करिब एक लाख अमेरिकी डलरमा आफै विद्यार्थी बनेर मस्ती गरेका छन् । पाँच जना विद्यार्थीलाई विदेशमा तालिम दिन आएको रकम उनी एक्लै चार देश घुमेर सकेका हुन् ।विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरूलाई ‘जुनियर डाक्टर ट्रेनिङ’ शीर्षकमा ६० हजार अमेरिकी डलर र ‘हेल्थ स्टाटिस्टिक ट्ेरनिङ’ शीर्षकमा वार्षिक १९ हजार युरो दिने गरेको छ । डा.गिरीले विद्यार्थीका तर्फबाट कोही पनि तालिममा जान नमानेको भन्दै गत आर्थिक वर्ष डब्लुएचओले दिएको रकममा रजाइँ गरेका थिए ।
सो रकममा अध्ययनका लागि पठाउने नामको छनोट न्याम्सको एकेडेमी काउन्सिलले गर्छ, जसको अध्यक्ष डा.गिरी स्वयं हुन् । ११ सदस्यीय काउन्सिलमा डेढ वर्षदेखि ६ जना मात्रै छन् । उनीहरू पनि प्राय: गिरीले नै नियुक्ति गरेका भएकाले उनलाई निर्णय गराउन कुनै समस्या भएन । डब्लुएचओको पैसामा उनी एक्लैले अस्ट्रेलिया, श्रीलंका, स्विजरल्यान्ड र अस्ट्रिया भ्रमण गरेका थिए ।
डब्लुएचओले पोस्ट ग्रयाजुएट गरिरहेका चिकित्सकहरूलाई थेसिस लेख्न सिकाउने तथा रिसर्च गर्न सिकाउने उद्देश्यले विदेशमा अध्ययन गर्नका लागि उक्त शीर्षकमा रकम उपलब्ध गराउने गर्छ । गत आर्थिक वर्षमा कुनै पनि विद्यार्थी जान नमानेकाले आफू गएको डा.गिरीको दाबी छ । डब्लुएचओको पैसामा विदेशमा गएको कुरा गत ७ भदौमा न्याम्समा भएको छलफलमा उनले स्वीकार गरेका थिए ।
छलफलका एक सहभागीका अनुसार रेसिडेन्ट डाक्टरहरूले डब्लुएचओको पैसाको विषयमा कुरा उठाएपछि डा.गिरीले रेसिडेन्ट चिकित्सकहरूलाई अध्ययनका लागि जाने भनेर सोधेको तर कोही पनि जान नमानेपछि आफै गएको दाबी गरे । तर, उनले त्यस विषयमा कसैलाई नसोधी सुटुक्क निर्णय गराएको स्रोतले बतायो ।
विद्यार्थीको पैसामा शिक्षाध्यक्ष आफै अध्ययनका लागि जानुभएछ नि † भन्ने प्रश्न राख्दा डा.गिरीले अरू कोही जान नमानेकाले आफू गएको बताए । ‘वास्तवमा त्यो रकम विद्यार्थीका लागि भनेर नै तोकेर आएको थिएन । रकम आएपछि मैले अरूलाई जाने कोही छ भनेर सोधेको हुँ’, उनले सौर्यसँग भने, ‘तर अध्ययनका लागि जाने कोही नदेखिएपछि म गएको हुँ ।’ संगठनले जुन विषयमा अध्ययनका लागि रकम दिन्छ त्यो विषय निकै गाह्रो हुने भएकोले कसैले पनि आँट नगरेको उनको भनाइ छ ।
सो शीर्षकको रकममा तीन वर्षअगाडि न्याम्सको सहमतिमा युरोलोजीका डा.यौवनचन्द्र शिवाकोटी गएका थिए भने दुई वर्षअगाडि प्लास्टिक सर्जन डा.पीयूष दाहाल गएका थिए । तर, गत वर्ष भने रेक्टरले कसैलाई खबर नगरी आफै गएको थाहा पाएपछि वीर अस्पतालको हाडजोर्नी विभागका चिकित्सक र न्याम्समा अध्ययनरत आवासीय चिकित्सकहरूले भदौ पहिलो साता विरोध जनाएका थिए ।
यस विषयमा रेक्टर डा.गिरीसँग ६ गते कुरा गर्न खोज्दा ग्यास्ट्रो विभागका डा.जैनेन्द्र चौधरीसँग उनको भनाभन नै भएको थियो । संगठनको रकम र न्याम्सले ३ भदौमा एमडी, एमएस, एमसिएच, बिएन र स्टाफ नर्सको भर्ना खोलेको विषयमा छलफल हुँदा डा.गिरीले आक्रामक रूपमा कुरा गरेपछि झन्डै हातहालाहालको स्थिति आएको डा.चौधरीले बताए । डा.चौधरीले रेक्टरले आफूमाथि हातपात गरेको र सुरक्षाको अवस्था नरहेको भन्दै न्याम्स उपकुलपति डा.दामोदर पोखरेलसमक्ष उजुरी दिएका छन् । रेक्टर डा.गिरीले पनि चिकित्सकले आफूलाई हातपात गरेको भनी सुरक्षाको माग गर्दै उपकुलपतिसमक्ष उजुरी दिएका छन् ।
दुवैपक्षबाट आएको उजुरीलाई समाधान गर्न उपकुलपति डा.पोखरेलले छानबिन समिति बनाएका थिए तर छानबिन समितिले उपकुलपतिसमक्ष प्रतिवेदन बुझाउन नपाउँदै रेक्टर डा.गिरीले आफूनिकटका कर्मचारी संगठनलाई प्रयोग गरी न्याम्समा तालाबन्दी गराएका छन् । डा.गिरीले उपकुलपतिले चासो नदिएपछि कर्मचारीहरूले आफ्नो समस्या बुझेर आफै ताला लगाएको बताएका छन् ।
‘कर्मचारीहरूले मप्रति अन्याय भएको बुझेर नै यसो गरेका हुन्’ उनले भने तर न्याम्सका आवासीय चिकित्सकहरू भने डा.गिरीले छानबिन समितिमार्फत पोल खुल्ने डरले न्याम्समा ताला लगाउन लगाएको बताउँछन् । डा.गिरीको रेक्टरको पदावधि आगामी पुसबाट समाप्त हुँदै छ ।







