टोकियो – शान्ति प्रक्रियालगायतका विषयमा मङ्गलबार नेपालका मुख्य राजनीतिक दलहरुबीच भएको सहमतिको जापान लगायत मित्रराष्ट्रहरुले स्वागत गरेका छन् ।जापान सरकारका तर्फबाट नेपालस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी दलहरुबीचको निरन्तर प्रयासबाट सहमति गरिएको कार्यतालिका अनुसार नै सो सहमति कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।
‘यसबाट नेपाली जनताले पाँचौ विस्तृत शान्ति सम्झौता नयाँ जोसका साथ मनाउने छन्,’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा जापानी सरकार र जनता शान्ति र संविधानका विषयमा नेपाल र नेपाली जनताका प्रयासमा सहयोग गर्न सधैँ तयार रहेको विश्वास दिलाइएको छ ।
संयुक्त राज्य अमेरिकाले संलग्न सबै पक्षलाई ती सहमतिलाई कार्यान्वयन गर्न प्रोत्साहन गर्दै जारी शान्तिप्रक्रियामा यथोचित सहयोग पुर्याउन प्रतिबद्धता जनाएको छ ।
यस सहमतिमा पुग्नका लागि सबै दलले प्रदर्शन गरेको राजनीतिक नेतृत्वको कदर गर्दै नेपालमा लोकतान्त्रिक, स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नेतर्फ यो एक अपरिहार्य कदम रहेको हाम्रो विश्वास रहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता भिक्टोरियाद्वारा आज जारी वक्तव्यमा भनिएको छ ।
यसैगरी युरोपेली सङ्घका नियोग तथा नर्वे र स्विटजरल्यान्डले नेपालको शान्ति प्रक्रियामा लामो समयदेखि थाती रहेका विषयलाई टुङ्गोमा पुर्याउन सातबुँदे सहमतिमा भएको हस्ताक्षरको स्वागत गरेका छन् ।
नेपालको विकास प्रक्रियाका साझेदार तथा मित्रका नाताले राजनीतिक दलबीच हिजो भएको समझदारीको स्वागत गर्दै संघले त्यसबाट विस्तृत शान्ति सम्झौता पूर्ण रुपमा कार्यान्वयन हुने विश्वास व्यक्त गरेको छ ।
संघको अध्यक्ष राष्ट्र डेनमार्कको राजदूताबासले विज्ञप्ति जारी गरी पूर्व माओवादी लडाकुहरूको समायोजन र पुनःस्थापना, दिगो शान्ति स्थापनाका लागि लोकतान्त्रिक एवम् समावेशी संविधान लेखनलाई अधिक प्राथमिकता दिन राजनीतिक दल र सरकारसँग आग्रह गरेको छ ।
‘शान्ति प्रक्रियामा संघ, नर्वे र स्विट्जरल्यान्डको निरन्तर सहयोग एवम् पूर्ण समर्थन रहने छ र भावी दिनमा सहायता गर्न तयार रहने छन् ’वक्तव्यमा भनिएको छ । ***








