काठमाडाैं – जापानले नेपाली कामदार लैजाने विषयमा दुई देशबीच आज काठमाडौंमा श्रमसमझदारी हुँदै छ । यसलाई दुई देशबीच ‘सहकार्य गर्ने समझदारी’ को नाम दिइएको छ ।
जापानले पहिलोपटक ‘श्रम भिसा’ मा सोझै नेपालबाट कामदार लैजाने भएपछि दुई देशबीच समझदारीमा हस्ताक्षर हुन लागेको हो । श्रम मन्त्रालयका अनुसार सम्झौता भएपछि आउँदो एप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने तयारी गरेको छ ।
त्यसका लागि उसले नेपालबाहेक चीन, फिलिपिन्स, थाईल्यान्ड, म्यान्मार आदि देशहरूसँग कुराकानी गरेको विवरण जापानी सञ्चारमाध्यममा प्रकाशित भएको छ । जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालका कामदार लैजाने बताइएको छ । तर सम्झौतामा के छ भनेर श्रम मन्त्रालयले खुलाउन चाहेको छैन ।
जापानमा रोजगारीमा पठाउनका लागि मन्त्रालयभित्र एउटा छुट्टै संयन्त्र बनाइनेछ । नेपाली नागरिकहरू वैदेशिक रोजगारीमा जाँदा हुने ठगी नियन्त्रण गर्न श्रमिक आपूर्ति प्रक्रियामा तेस्रो पक्षलाई संलग्न नगराइने सहमति जापानी पक्ष भएको हाे । सहमति भएका विषयलाई कार्यान्वयनमा ल्याउन एउटा प्राविधिक टोली गठन गरिने छ ।
सो टोलीले जापानले नेपालबाट वार्षिक लैजाने श्रमिकको सङ्ख्या र कामदारको लागत खर्चजस्ता विषय टुङ्ग्याउनेछ । तर कामदारको तलब भने सम्बन्धित जापानी कानुनअनुसार नै हुने बताइएको छ । विदेशी कामदारहरुलाई आफ्नो देशमा भित्र्याउने नीति जापानको मन्त्रिपरिषद्ले डिसेम्बर महिनामा नै पारित गरेको थियो ।
जापान रोजगारी सम्झौताका लागि गत साता बसेको नेपालको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई अख्तियारी दिने निर्णय गरेको थियो । श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार जापानमा रोजगारीमा जान एनफोर भाषा परीक्षा उत्तीर्ण हुनुपर्छ । अर्थात् जापानी भाषा राम्ररी बोल्न र पढ्न सक्ने हुनुपर्छ ।
गत अक्टोबर महिनामा सार्वजनिक गरिएको चुओ युनिभर्सिटी र पर्सोल रिसर्च एन्ड कन्सल्टिङले संयुक्त रूपमा गरेको एउटा सर्वेक्षणमा जापानमा सन् २०३० भित्रमा ६४ लाखभन्दा बढी कामदारको अभाव हुने देखिएको थियो । जापानको श्रम मन्त्रालयका अनुसार २०१७ जापानमा झन्डै १२ लाख कामदारको अभाव भएको थियो । पाका उमेरका मानिसको सङ्ख्या बढिरहेको जापानमा बाह्य कामदारको आवश्यकता भएको देखिएको छ ।








