काठमाडाैं – सत्तारुढ दल नेकपामा शीर्ष नेताहरूबीच असमझदारी चुलिएको छ । पार्टीको सर्वोच्च कार्यकारी निकायको बैठक वरिष्ठ चार नेताले नै शनिबार बहिष्कार गरेका छन् । दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालको कार्यशैलीप्रति विमति जनाउँदै नौ सदस्यीय सचिवालयका चार जना बैठकमा सहभागी भएनन् । बहिष्कार गर्नेमा पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य वामदेव गौतम छन् ।
चार सदस्यले बैठक छाडेर हिंडेपछि पार्टीका दुई अध्यक्षसहित महासचिव विष्णु पौडेल र सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापाको बैठक बसेको थियो । नेकपामा सचिवालयलाई सर्वाधिकार सम्पन्न बनाएको, संगठनात्मक तथा राजनीतिक निर्णय दुई अध्यक्षमा मात्र केन्द्रित गरेको र पार्टी अन्तरिम विधानअनुसार पार्टीका नियमित बैठक नबोलाएकोमा केही समयदेखि स्थायी र केन्द्रीय समिति सदस्यसमेत असन्तुष्ट थिए । यसअघि २१ केन्द्रीय सदस्यले पार्टी अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापनपत्र पनि बुझाएका थिए ।
शीर्ष तहमा चुलिँदै गएको असन्तुष्टि शनिबारको बैठकमा प्रकट भएको हो । ‘झण्डै आधा घण्टा हामीले बैठकका लागि कुर्यौं, उहाँहरू (दुई अध्यक्ष) आउँदै आउनुभएन’, वरिष्ठ नेता झलनाथ खनालले अन्नपूर्णसाग भने, ‘त्यसपछि बैठक होइन रहेछ भन्ने ठानेर उपस्थित चार जनाले सामूहिक निर्णय गरेर बाहिरियौं ।’ बैठकका लागि शनिबार सबैभन्दा पहिले वरिष्ठ नेता नेपाल बालुवाटार पुगेका थिए । दुई अध्यक्ष र महासचिव पौडेल त्यसअघि नै बालुवाटारमा थिए। नेपाल बालुवाटार पुगेपछि महासचिव पौडेलले दुई अध्यक्ष अर्काे कार्यकक्षमा २ बजेदेखि नै बैठकका एजेन्डामा केन्द्रित रहेर परामर्शमा रहेको जानकारी गराएका थिए। त्यसपछि पौडेल बैठकमा प्रस्तुत गर्ने केही विषय प्रिन्ट गर्नुपर्ने भन्दै नेपाल बसेको कोठबाट बाहिरिएका थिए ।
त्यसपछि क्रमशः खनाल, गौतम र श्रेष्ठ बालुवाटार पुगेका थिए। उनीहरूलाई सचिवालय बैठक दिउँसो ३ बजे बस्ने जानकारी गराइएको थियो । निर्धारित समयमै बालुवाटार छिरेका उनीहरू साढे तीनसम्म अध्यक्ष र महासचिव नआएपछि र कुनै खबर समेत नपाएपछि बैठक छोडेर बाहिरिने विषयमा छलफल गरेका थिए । चारजनाबीचको छलफलपछि प्रवक्ता श्रेष्ठले समय पालनासम्बन्धी पूर्वनिर्णय पालना नभएकाले आफू बैठक छाडेर हिंडेको मेसेज दुई अध्यक्षलाई पठाएर निस्केका थिए । श्रेष्ठ हिंडेको केही समयमै अन्य तीन नेता पनि बैठक कक्षबाट बाहिरिए । ‘बैठक भनेर बोलाइयो, यहाँ आएर हामीलाई लामै समय कुराइयो । अपमान महसुस भएपछि हामी हिड्यौं,’ गौतमले सञ्चारकर्मीसँग भने ।
नेकपामा पार्टी एकताको लामो समयसम्म पनि तल्लो तहमा एकीकरणले पूर्णता पाउन सकेको छैन । मंसिर ७ यता निरन्तर सचिवालय बैठक बसेर संगठनात्मक कामको प्रस्ताव टुंगो लगाउने, स्थायी समिति बैठक बोलाई निर्णय लिने र सरकारको समीक्षा गर्ने कार्यसूची तय भएको थियो ।








