काठमाडौं – रातको समयमा आँखा नदेख्नुलाई रतन्धो भनिन्छ । चिकित्सकीय भाषामा यसलाई नाइट ब्लाइन्डनेस पनि भनिन्छ । रतन्धो अहिले साझा समस्याका रूपमा देखा परेको छ । यो विभिन्न कारणले लाग्ने गर्दछ, जस्तो, वंशानुगत गुण, भिटामिन एको कमी, आँखाको रेटिनामा लाग्ने विभिन्न रोग आदि कारण प्रमुख हुन् । त्यसमा पनि रेटिनासम्बन्धी रोग लागेमा रतन्धो हुने सम्भावना प्रबल हुन्छ । जसमध्ये रेटिनाइन्टिन पेगनिन्टोसा (आरपी) प्रमुख हो । आरपी पनि विभिन्न प्रकारका हुन्छन् ।

कसलाई बढी लाग्छ ?
सामान्यतया रतन्धो सबै उमेरका मानिसमा देखा पर्ने गर्छ । त्यसमा पनि बच्चाहरू यसबाट बढी प्रभावित हुने गर्छन् । १० वर्षमुनिका बच्चाले रतन्धो भएको थाहा पाउँदैनन् । तसर्थ, विशेषगरी आमा तथा परिवारका अन्य सदस्यले बच्चाको व्यवहार हेरेर समयमै पत्ता लगाउन सक्नुपर्छ । समयमै उपचार नभएमा रतन्धोकै कारण ५–१० वर्षपछि अन्धोपन हुने सम्भावना रहन्छ ।
वंशानुगत गुणका कारण धेरैजसोमा रतन्धोको समस्या देखिने गर्छ । यस्तो रतन्धो निको हुँदैन । वंशानुगत रतन्धोका पनि धेरै प्रकार छन् । यसमध्ये सेक्सलिन नामक रतन्धो प्रायः एक वर्षको उमेरदेखि नै सुरु हुन्छ । त्यसैगरी, डोमिनेन्ट नामको रतन्धो वयस्क हुँदा देखिन्छ । साथै, भिटामिन तथा खानाको कमीबाट भएको रतन्धो पोषणयुक्त खानेकुरा नियमित खाए हराउन सक्छ । त्यस्तै, माइनस पावर भएका चस्मा लगाउनेलाई प्याथोलोजिकल मायोपिया समस्या हुन्छ । जसका कारण रेटिनामा असर पर्छ र रतन्धो हुन्छ ।
बच्न के हुँदै छ ?
सरकारले भिटामिनको कमीबाट हुने रतन्धोबाट बच्न विशेषगरी ग्रामीण क्षेत्रलाई लक्षित गरी भिटामिन–ए क्याप्सुल वितरण गर्दै आएको छ । भिटामिन–ए क्याप्सुलले कुपोषणबाट बचाउनदेखि लिएर दादुराको संक्रमण भएको वेला प्रोटिनको आपूर्तिसमेत गर्छ ।
लक्षण
-रातको समयमा आँखा नदेखिने र सामान्य हिँडडुल गर्नसमेत गाह्रो हुने अवस्था आउँदै गएमा रतन्धो भन्ने बुझ्नुपर्छ ।
-बच्चा राति बाहिर निस्कन नमानेमा रतन्धो भएको शंका गर्न सकिन्छ ।
-बच्चाको आँखामा साबुनको फिँजजस्तो केही देखिन्छ ।
-बच्चाले बारम्बार आँखा माडिरहन्छन् ।
-वयस्कलाई रातको समयमा ड्राइभिङ गर्न असहज हुन्छ ।
उपचार
-भिटामिन एयुक्त खानेकुरा खाने, जस्तै– गाँजर, हरियो सागपात, फलफूल, दूध वा दूधजन्य पदार्थ आदि ।
-आँखामा समस्या आउनासाथ चिकित्सकसँग सल्लाह लिने ।
-यदि वंशानुगत कारणले रतन्धो भएको हो भने अहिलेसम्म यसको उपचार पत्ता लागेको छैन ।








