काठमाडाैं – तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया नटुंगिँदै त्यसभित्र नयाँ धारको जन्म भएको छ । पछिल्लो सचिवालय बैठकपछि नेकपाभित्र नयाँ धारको जन्म भएको हाे ।
पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपाल र प्रवक्ता श्रेष्ठले पछिल्लो सचिवालय बैठकमा ५ असोजको मनोनयन निर्णयप्रति असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेर नयाँ धारको नेतृत्व गर्न खोजेका हुन् । पार्टी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डनेताद्वय नेपाल र श्रेष्ठको कदमलाई पार्टीभित्र नयाँ धारको नेतृत्व नभई त्यहीभित्र रहेको ‘धार’ मा पाइन हाल्न खोजेको बताउँछन् ।
‘पार्टी एकताबारे पार्टीभित्रको धार भुत्ते भयो, त्यसमा नेताद्वयले पाइन हाल्न खोज्नुभएको थियो । त्यो पनि काम लागेन । त्यसपछि न सचिवलायको बैठकले निरन्तरता पायो न स्थायी समितिकै बैठक बस्न सक्यो’, पाण्डेले भने । उनका अनुसार पार्टीका सबै अंगले राम्रोसँग काम गर्न पाउनुपर्छ भन्ने आमकार्यकर्ताको भनाइ छ । ‘पार्टीका सबै कमिटी चलायमान हुनुपर्छ, सबैले जिम्मेवारी पाउनुपर्छ र त्यो न्यायोचित हुनपर्छ भन्ने सबै नेता कार्यकर्ताको भनाइ हो’, पाण्डेले भने ।
नेता नेपाल र प्रवक्ता श्रेष्ठले प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन विधि, प्रक्रिया र पद्धतिप्रति असहमति जनाउदै पछिल्लो सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए । बैठकमा दुवै नेताहरुले मनोनयनको विषयलाई लिएर पार्टी नेतृत्वको चर्को आलोचना गरे पनि सुनुवाइ भएन । अर्को बैठकमा यस विषयमा टुंगोमा पुग्ने भनिए पनि बैठक बस्ने सकेको छैन ।
सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, श्रेष्ठ, रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल छन् । ५ असोजको सचिवालय बैठकमा नेपाल र श्रेष्ठ अनुपस्थित थिए । त्यसबेला नेपाल दक्षिण अफ्रिकी राष्ट्र घानाको भ्रमणमा थिए भने श्रेष्ठचाहिँ चीन गएका थिए। दुवै नेता नभएका बेला सचिवालय बैठकले बहुमत सदस्य उपस्थित भएको भन्दै प्रदेशमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मनोनयन गरेको थियो ।
एकीकृत पार्टीले पूर्णआकार ग्रहण गरिनसक्दै विधि र प्रक्रियासमेत मिचेर प्रदेशमा मनोनयन गरिएको विषयमा नेपाल र श्रेष्ठले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । पछिल्लोपटक कात्तिक ५ मा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहालले मनोनयनमा भएको कमीकमजोरी सच्याउने प्रतिबद्धता व्यक्त गरे पनि सोअनुसार काम हुन सकेको छैन ।








