काठमाडौं – छोराका हत्यारालाई कारवाही गर्न माग गर्दै अनसनमा बेसेकी गंगामाया अधिकारीलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भेट्नु भएको छ । मानवअधिकारवादीको टोलीसहित आज अपरान्ह वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामायालाई भेट्नु भएको हो ।
गंगामायालाई भेट्न कनकमणि दीक्षित, चरण प्रसाईं, डा. केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुग्नुभएको थियो । उहाँको छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।








