काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिनायकवाद ल्याउन खोजेको हल्ला फैलाइएको गुनासो गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै प्रम ओलीले यस्तो गुनासो गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता ल्याउन चाहनेहरुले अधिनायकवादको हल्ला फिँजाइरहेको बताउनुभयो । संसदमा ओलीले भन्नुभयो, ‘लोकतन्त्र जान्छ रे, अनि आउँछ के त?’ ओलीले‘ आज देशलाई आशावाद चाहिएको र आफुहरुले लोकतन्त्रलाई सुदृढ गर्न सक्ने देश बनाउन सक्ने आशा लिएको बताउनु भएको छ । प्रभावकारी नभएपछि योजना आयोगको पुर्नगठन भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री कार्यालय दह्रोगरी अनुगमन गर्ने र कदम चाल्ने मुडमा रहेको समेत ओलीले जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले राजश्व अनुसन्धान, राष्ट्रिय अनुसन्धान लगायतका निकायलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको समेत जानकारी दिनुभयो ।








