चितवन – नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।
यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उहाँले बताउनुभयो ।
नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन देख्नुलाई दुलर्भ मानिन्छ । नदीमा घडियाल गोहीको अनुगमनका क्रममा डल्फिनको बच्चा देखिएको भए पनि तस्बीर लिन भने नसकिएको खड्काले बताउनुभयो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र आर्यालले सो क्षेत्रमा यसअघि पनि एक जोडी डल्फिन देखिँदै आएकामा त्यही जोडीबाट बच्चा जन्मिएको हुन सक्ने बताउनुभयो ।
नदीमा डल्फिनको संख्या थपिदै गएमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास उहाँको छ । संकटापन्न अवस्थामा रहेको घडियाल गोहीका लागि नारायणी नदी राम्रो बासस्थान मानिन्छ ।
घडियाल गोहीका २११ बच्चा कोरलिए
चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन् केन्द्रमा यस वर्ष २११ वटा बच्चा कोरलिएका छन् । नारायणी र राप्ती नदीमा संकलन गरिएको गोहीको अण्डा र प्रजनन् केन्द्रमा गोहीले पारेको अण्डाबाट ती बच्चा कोरलिएका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार राप्तीमा सात वटा गुँडबाट संकलन गरिएको २३५ वटा अण्डाबाट ११८ वटा बच्चा र नारायणी नदीमा दुई गुडबाट संकलन गरिएका ८२ वटा अण्डाबाट ४६ वटा बच्चा कोरलेका हुन् । प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका हुन् ।
निकुञ्जले गएको वैशाखमा गोहीको अण्डा नदीबाट संकलन गरेको थियो । सो क्रममा राप्तीमा तीनवटा र नारायणीमा पाँचवटा गुँड छाडिएको थियो । सहायक संरक्षण अधिकृत खड्काका अनुसार ती गुडँमध्ये राप्तिमा एउटा गुँड पानीले बगाएको र अन्य दुईवटा गुँडबाट बच्चा कोरलिएका छन् । नारायणी नदीमा एक गुँडबाट बच्चा कोरलिएको, एक गुँड पानीले बगाएको र तीन गुँडमा बच्चा कोरल्न बाँकी रहेको उहाँले बताउनुभयो ।








