Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर दुई पक्षीय सहकार्य अघि बढाउने बताउनभएको छ । प्रधानमन्त्री ओली बेइजिङ पुगे लगत्तै आज साँझ नेपाली दूतावासले आयोजना गरेको सम्मान कार्यक्रममा चीनसँगको सम्बन्धलाई  बलियो बनाउने बताउनुभएको हो ।

उहाँले चीन नेपालको भरपर्दो छिमेकी तथा मित्रराष्ट्र भएको बताउँदै दुई पक्षीय सहकार्य अघि बढ्ने बताउनुभयो । नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोहोर्‍याउँदै चीनले गरेको तीब्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको बताउनुभयो । उहाँले नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) मा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमाल पारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताउनुभयो ।

आफ्नो अघिल्लो भ्रमण २०७२ चैतमा भएका सन्धी सम्झौताको कार्यान्वयन र थप नयाँ सम्झौताहरू गरिने पनि उहाँले बताउनुभयो । मुलुक र जनताको हितलाई ध्यानमा राखेर नै सन्धी र सम्झौताहरु हुने पनि उहाँले बताउनुभयो ।  प्रधानमन्त्रीमा निर्वाचित भएको चार महिना पछि बेईजिङ उडेका ओलीले भोलिबाट महत्वपूर्ण राजनीतिक भेटवार्ता सुरु गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनपिङबीच स्थानीय समयानुसार भोलि अपराह्न ४ बजे राजनीतिक भेटवार्ता हुनेछ ।

ग्रेट हल अफ द पिपुलमा झण्डै ४५ मिनेटको छलफल हुने बताईएको छ । समकक्षी ली र ओलीबीचको छलफल भने बिहीबार हुनेछ । ली सँग बिहीबार अपराह्न ५ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लगत्तै प्रधानमन्त्री ओली चिनियाँ जनमुक्ति सेनाले प्रदान गर्ने गार्ड अफ अनरमा सहभागी हुनुहुनेछ । त्यसपछि दुबै देशका प्रतिनिधि मण्डलबीच १ घण्टा औपचारिक वार्ता हुनेछ । सो वार्तामा दुई मुलुकबीच विभिन्न सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसबाहेक प्रधानमन्त्री ओलीले पर्सि अन्य महत्वपूर्ण भेटवार्ता गर्नुहुनेछ । बिहीबार राती ओली चिनियाँ नेशनल कंग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ । बेईजिङको महत्वपूर्ण भेटघाटपछि ओली नेतृत्वको टोली शुक्रबार तिब्बतको ल्हासा आउनेछ । ३ दिनको तिब्बत बसाईका क्रममा ओलीले विभिन्न पक्षसंग छलफल गर्नुहुनेछ । त्यस्तै तिब्बतमा रहेका परियोजनाको पनि अवलोकन गर्ने कार्यक्रम छ । ओली नेतृत्वको टोली आईतबार स्वदेश फर्कने छ ।

तपाईको प्रतिक्रिया