काठमाडाैं – सरकारका मन्त्रीको उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । अाजको प्रतिनिधिसभा बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल चलिरहँदा बैठकमा मन्त्रीको उपस्थिति नरहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नियमापत्ति गरेपछि बैठक अवरुद्ध भएको हो ।
प्रतिनिधिसभा सञ्चालन सम्बन्धी नियमावली २०७५ को अनुच्छेद २ को धारा ६ को उपधारा ५ मा बैठकमा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था गरिएको छ । साथै कुनै मन्त्रालयका बारेमा विषयगत छलफल हुँदा सम्बन्धीत मन्त्रालयका मन्त्रीको बैठकमा अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था छ । अाज छलफल भइरहेका मन्त्रालयका कुनै पनि मन्त्री बैठकमा उपस्थित नभएको भन्दै नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले बैठक चल्न नसक्ने जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
नियमापत्ति गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकै संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पनि बैठकमा उपस्थित थिएनन् ।








