काठमाडौं – डडेल्धुराको भीमदत्त राजमार्गमा पर्ने गजरौला सडकखण्डमा जीप खस्दा ४ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् । आज बिहान ११ बजे से १ ज ३३० नम्बरको जीप सडकबाट २ सय मिटर तल खसेको हो ।
मृत्यु हुनेमा जिपधनी दिपायल सिलगढी४ का विनोदकुमार रावल, आर्दश गाउँपालिका–३ का वडाअध्यक्ष प्रेम बोहरा, आदर्श गाउँपालिकाकै लाल बोहरा र जानकी बोहरा रहेका छन् । डोटीको दिपायलबाट कोहलपुरतर्फ आइरहेको शैलेश्वरी यातायातको जीप गजरौलामा दुर्घटना भएको थियो ।
घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको कारणबारे हाल प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।








