वीरगञ्ज – संघीय सरकारले आगामी वर्षको लागि सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम मधेसको हित विपरित रहेको भन्दै संशोधन प्रस्ताव दर्ता गराएका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदिप यादवले प्रस्ताव फिर्ता लिनुभएको छ । जेष्ठ ९ गते संसदमा धारणा राख्दै यादवले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान संशोधनको विषयमा समावेश नभएको भन्दै आपति जनाउनुभएको थियो ।
उहाँले नीति तथा कार्यक्रमले आधा जनसंख्या मधेसी, जनजाती, आदिवासी, थारु, मुस्लिमलगायतका समुदायले राखेको संविधान संशोधनको विषयलाई उपेक्षा गरेको आरोप लगाउँदै सदनमा संसोधन प्रस्ताव दर्ता गरी नीति तथा कार्यक्रम संशोधन नभएसम्म आफूले सदन चलन नदिने चेतावनी समेत दिनुभएको थियो । नीति तथा कार्यक्रम मधेसकोहित विपरित रहेको भन्दै सरकारको कडा आलोचना गर्नुभयो । साथै उहाँले वीरगञ्जमा भएको एक अनौपचारिक कार्यक्रममा संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नलिने दावी गर्नुभएको थियो ।
तर एक्कासी यादवले प्रस्ताव फिर्ता लिएपछि पर्सा जिल्लाको राजनीतिमा नयाँ तरंग आएको छ । मधेसको राजनीतिमा नेतृत्वकर्ताको रुपमा चिनिएका प्रदिप यादवको यस कदमलाई स्थानीय राजनीतिक विशलेषकहरुले मधेशसंग धोकाको संज्ञा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सरकारमा जाने अघोषित सहमति भएपछि नीति तथा कार्यक्रम संशांधन गर्न प्रस्ताव दर्ता गराएका यादवलगायत पार्टीका अन्य सांसदहरुले पनि संशांधन प्रस्ताव फिर्ता लिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भएको छलफलपछि एकाएक सांसद प्रदिप यादवलगायत राम सहायप्रसाद यादव, सुरेन्द्रकुमार यादव र रेणुका गुरुङले नीति तथा कार्यक्रममाथीको संशोधन प्रस्ताव फिर्ता लिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरम नेपालबीच दुई बुँदे सहमति भएसँगै फोरम सरकारमा सामेल हुने भएको छ । अब प्रदेश २ को सरकारमा पनि नेकपा र फोरमबीच नयाँ गठबन्धन बन्ने संकेत देखिएको छ ।








