काठमाडौं – विश्व सर्वहारा वर्गका नेता कालमाक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले यही जेठ १६ र १७ गते नेपालमा ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र एकतापछि विश्वका अन्य कम्युनिष्ट पार्टीहरुलाई नेपालको शक्तिशाली कम्युनिष्ट पार्टीले नयाँ सन्देश दिने अवसरका रुपमा समेत सम्मेलनको तयारी भएको छ । सम्मेलन आयोजक समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा माक्र्सवादी विचारहरुका बारेमा विश्वका विभिन्न भूभागमा रहेका कम्युनिष्ट, समाजवादी तथा श्रमिक पार्टीका बीचमा अनुभव आदानप्रदान हुनेछ ।
समितिका संयोजक एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरुको विगतको चुनौती र भावी नीतिका बारेमा सम्मेलनमा बहस हुने बताउँदै जनताको मुक्ति र समाज रुपान्तरणलाई कम्युनिष्टहरुले केन्द्रमा राख्ने भएकाले समाजवादले समृद्धि हासिल गरी न्यायोचित वितरण कसरी गर्न सक्छ भन्नेमा आफूहरुको ध्यान रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानमा सहमतिका आधारमा समाजउन्मुख अर्थतन्त्र समावेश गरिएको छ । त्यसैले कम्युनिष्टहरुले समाजवादको बहस गर्दा गैरकम्युनिष्टहरु आत्तिनु पर्दैन ।’
सम्मेलनको प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन र कार्यपत्र प्रस्तुत गरिने सम्मेलनमा ओलीले ‘नेपालका कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’ तथा अध्यक्ष पुष्पकमल दाहालले ‘आजको माक्र्सवाद र समाजवाद’, विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनमा हालसम्म विभिन्न ११ देशका १५ कम्युनिष्ट तथा समाजवादी पार्टीले सहभागिताको सुनिश्चितता गरिसकेका छन् । तत्कालीन एमाले र माओवादीको एकता हुनुपूर्व नै सो सम्मेलन संयुक्त आयोजना गर्ने तीन कम्युनिष्ट दलबीच सहमति भएको थियो । आयोजक समितिमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत हुनुहुन्छ ।








