टोकियो – तामाङ समाज जापानले जातीय तथा क्षेत्रीय पहिचानसहितको संघीय संरचना बिरुद्ध भईरहेको गतिबिधिप्रति गम्भीर असहमति प्रकट गर्दै ताम्सालिङ संयुक्त संघर्ष समितिद्वारा घोषित आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
तामाङ समाज जापानको तर्फबाट अध्यक्ष सुकमान थिङ तामाङ र महासचिव हवलचन्द्र लामाले आजै जारी गर्नुभएको बिज्ञप्तीमा उक्त ऐक्यबद्धता जाहेर गर्नुभएको हो ।
बिज्ञप्तीमा, नेपालका सबै जातजाति, आदिबासी, महिला, दलित, मुस्लिमसहित उत्पिडनमा परेका हरेक क्षेत्र र समुदायलाई मान्य हुने गरी नयाँ समय सापेक्ष संबिधान निर्माणमा जिम्मेवार ढंगले लाग्न सम्बन्धित दल तथा नेताहरुलाई खबरदारी समेत गरिएको छ ।
उक्त समाजद्वारा समुद्रपारिलाई प्राप्त बिज्ञप्तीको पूर्णपाठ यसप्रकार छ –
२४० वर्ष सम्म एकै जातिको हालीमुहाली सहेर, हामी पनि एउटै नेपाल आमाका सन्तान हौं, हामीलाई पनि अरु भाइसरह अधिकार देउ, भनि अनवरत अनेक आन्दोलन गरिकन नेपाललाई ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ ( Federal Democratic Republic of Nepal) को नाम सम्म फेर्न के भ्याएको थियौं, त्यो पनि घांटी निचोरेर मारिने सम्भावना हावी हुँदै आएको कुरा पछिल्ला चरणमा नेपालमा देखिएका संघीय संरचना बिरुद्द उठेका बन्द, बिरोधले उजागर गराउंछ । बर्षौ तिनै एकल जातिय मानसिकता बोकेका मानिसहरुले नेपाल मात्र एक जाति खस (बाहुन-क्षेत्री) र एकै भाषा नेपाली (खस-नेपाली) हो भनेर जातिय राज्यकै रुपमा चलाएर आएर अहिले नेपाल त एक मात्र भाषा होईन बहुभाषा एक जाति होईन बहुजाति, एकै धर्म होईन बिबिध धर्मावलम्वीको देश हो भनेर २१ औं शताब्दीमा गरिबीको रेखामुनि रहेका देशलाई समृद्ध नेपालकारुपमा सपना देख्ने नेपालीहरुको आशामा तुषारापात गराउन अझै पनि ती आरक्षित तथा सुबिधा लिन पल्केका समुदाय लागिपरेका देखिन्छन ।
यसरी जातिय तथा क्षेत्रिय पहिचानसहितको सङ्घीय संरचनाका बिरुरद्द भईरहेका बिभिन्न गतिबिधिहरुप्रति नेपाल तामाङ समाज जापानको गंभीर असहमति भएको कुरा जाहेर गर्दछौ । यसै कुरालाई उठाएर नेपालमा तामाङ जातिको ऐतिहासिक भूगोल र बाहुल्य क्षेत्र खण्डित नहुने गरी अखण्डित ताम्सासालिङ संयुक्त संघर्ष समितिले घोषणा गरेको हरेक अन्दोलनहरुप्रति नेपाल तामाङ समाज जापान ऐक्यबध्दता जाहेर गर्दछ ।
नेपालका सबै जातजाति, आदिवासी, महिला, दलित, मुस्लिमसहित उत्पिडनमा परेका र हरेक समुदायलाई मान्य हुने गरी नयां समयसापेक्ष संबिधानको निर्माणमा लाग्न सम्बन्धित दल तथा नेताहरुलाई खबरदारी पनि गर्न चाहान्छौं । यदी यसको बिपरितरुपमा समयमै संबिधान एवं तामाङ लगायतका आदिवासी जनजातिले गरेका मागको सम्बोधन भएनन भने फेरी पनि नेपालमा आवश्यक पर्ने आन्दोलनहरुका लागि नेपाल तामाङ समाज जापान संधै तत्पर रहने व्यहोरा पनि अवगत गराउंदछौ । ***