टोकियो- म्याग्देली सञ्जाल जापानले आउँदो ३० तारिखका दिन टोकियोमा हुन गईरहेको स्वर्णिम साँगीतिक साँझ कार्यक्रमको तैयारी पूरा भएको जनाएको छ । नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुको प्रस्तुती रहने बिशेष साँगीतिक कार्यक्रमसहित हुन गईरहेको अधिवेशनबाट मौजुदा कार्यसमितिको समेत पुनर्गठन गरिने भएकोले उक्त कार्य सम्पन्न गर्नका लागि सञ्जालले शरदकुमार गौचनको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
नेपालका ख्यातीप्राप्त लोकगायक अर्थात सालैजो भाकाका धरोहर खड्ग गर्बुजा, जिरेखुर्सानी टेलिसिरियलका अभिनेता जितु नेपाल र लोकदोहोरीका प्रखर गायिका मुना थापाको बिशेष साँगीतिक झंकारसहित हुन गईरहेको म्याग्देली सञ्जालको प्रथम अधिवेशनमा कार्यसमितिमा आवश्यक हेरफेर गर्ने जिम्मेवारी दिने गरी गत आइतवार सम्पन्न बैठकले निर्वाचन समिति गठन गरेको हो । सञ्जालका सल्लाहकार गौचनको संयोजकत्वमा गठित समितिमा अन्य सल्लाहकारहरु तिलक मल्ल, जोन छन्त्याल, गमप्रसाद जुग्जाली मगर र छक्कू उदासी रहेका छन् ।
अधिवेशनसहितको साँगीतिक कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईलगायतका जापानका बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, बिद्यार्थी, मिडियाकर्मीलगायतका नेपाल तथा नेपालीलाई माया गर्ने जापानीहरुको उत्साहजनक उपस्थिति रहने आयोजकहरुले बताएका छन् । प्रतिब्यक्ति ३ हजार येन टिकट दर रहेको कार्यक्रमको प्रवेश शुल्कमा संघसंस्थाको परिचयपत्रबाहकलाई भने ५ सय येन छूट गरिने ब्यवस्था मिलाईएको छ ।
अतिथि कलाकारहरु मुन्द्रे, मुना र गर्बुजा आउँदो २८ तारिख जापान आईपुग्ने कार्यक्रम छ । अपांग, अनाथ तथा असहाय बालबालिकाहरुको सहयोगार्थ आयोजित उक्त स्वर्णिम साँझ कार्यक्रममा उपस्थित भईदिन आयोजकहरुले जापानबासी नेपालीहरुलाई हार्दिक आमन्त्रण गरेका छन् । ***