टोकियो- नेपाल सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगर एक कार्यक्रमका लागि आज जापान आउँदैं छन् । एनेकपा माओवादीका वैकल्पिक पोलिटब्युरो एवं केन्द्रिय सदस्यसमेत रहेका मन्त्री बिष्ट आज बिहिबार अपरान्ह टोकियो आईपुग्ने कार्यक्रम रहेको छ ।
नेपाल सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण बर्षको प्रबर्द्धन गर्न र एक नेपालीले शुरु गरेको पर्यटन सम्बन्धि ब्यवसायको समुदघाटनका लागि मन्त्री बिष्ट जापान आउन लागेका हुन् । जापानमा अन्य विविध कार्यक्रमहरुका साथै मन्त्री बिष्टको नेपाली ब्यवसायी भवन भट्टले नागानोकेनमा शुरु गरेको रिसोर्ट होटेल तातेसिनाको पर्सी १३ तारिख शुक्रबार उदघाटन गर्ने कार्यक्रम रहेको छ ।
समानुपातिक निर्वाचन प्रणाली अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट संविधान सभा सदस्य विष्ट मगर २०३७ सालदेखि विद्यार्थी राजनीतिबाट वाम राजनीतिमा लागेका हुन । विष्ट सबैभन्दा धेरै सयम जेलमा बिताउने माओवादीका केन्द्रीय नेता हुन। पटकपटक गरी १० वर्ष जेलमा बिताएका विष्ट पार्टी भित्र अभ्यास उपनामले चिनिन्छन । रुकुमको मुरुमा रहेको घर जग्गा ९० हजारमा बेचेर पार्टीमा सर्वहाराकरणको अभियान थालेका बिष्ट माओवादी नेता रामबहादुर थापा बादलसंग लामो संगत छ । मन्त्री विष्ट राप्ती क्षेत्रमा माओवादीको आधार बनाउन विशेष भूमिका खेलेका नेताको रूपमा पनि चिनिन्छन। पार्टी संगठनका साथसाथै सैन्य फाँटमा पनि काम गरेका विष्ट पछिल्लो पटक अन्तरिम विधायक हुँदा चौथो डिभिजनका कमिसार थिए। फुर्सदमा लेखन सिर्जनामा लागिरहने विष्टका सयौं कविता प्रकाशित छन्।
मन्त्री बिष्ट मगरको स्वागतमा टोकियोमा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखिएको बुझिएको छ । मन्त्री बिष्ट १५ तारिख स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ । ***