रुस – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान सरकारले उपहार स्वरुप दिन लागेको कुकुर अस्वीकार गरेका छन् । उपहार अस्वीकार गर्नुको कारण भने खुलाइएको छैन ।

जापानका सांसद कोइची हेगिउदाले यस कुराको जानकारी दिएको बीबीसीले जनाएको छ । जापाले पुटिनलाई सन् २०१२ मा यूमे नामको जापानी नस्लको एक कुकुर्नी उपहार दिएको थियो । त्यसको साथीको रुपमा अर्को एक कुकुर पनि जापानले उपहार स्वरुप दिन लागेको थियो ।
तर जापान सरकारको तर्फबाट दिन लागिएको कुकुर उपहार पुटिनले अस्वीकार गरिदिएका छन् । आफ्नो एक ब्लग पोष्टमा जापानी सांसद हेगिउदाले लेखेका छन्, ‘दुर्भाग्य स्वरुप हामीले रुसका जनतालाई सुनाउनु परेको छ, उपहारको रुपमा बेहुला दिने हाम्रो इच्छा टुट्यो ।’
यदि रुसी राष्ट्रपतिले उपहारलाई स्वीकार गरेको भए आगामी हप्ता जापानी प्रधानमन्त्री शिन्जो आबे र रुसी राष्ट्रपतिबीच एक सम्मेलनमा भेटवार्ता हुनेथियो । पुटिनसँग बुफी नामको बुल्गेरियन शेफर्ड कुकुर पनि छ । त्यो कुकुर बुल्गेरियाका प्रधानमन्त्रीले सन् २०१० मा उपहार स्वरुप दिएका थिए ।
पुटिनलाई रुसी रक्षामन्त्री सरगेय शोयगूले पनि उपहार स्वरुप लेब्राडोर कोन्नी नामक कुकुर उपहार दिएका थिए तर, त्यो कुकुरको सन् २०१४ मा मृत्यु भएको थियो । एकपटक पुटिनले जर्मन चान्सलर एन्जेला मर्केलसँग भेटाउन लगेका थिए जबकी मर्केल कुकुरसँग निकै डराउँछिन् ।
केही समाचार संस्थाहरुले पुटिनले डराउन दिनकै लागि मर्केललाई कुकुरसँग भेटाएको भनेर समाचार लेखेका थिए तर पुटिनले जर्मन अखबारसँग कुरा गर्दै मर्केल कुकुरसँग डराउने भन्ने कुरा आफूलाई थाहा नभएको बताएका थिए । पुटिनले भने, ‘जब मलाई थाहा भयो की उनी कुकुरसँग डराउँछिन्, तब मैले निशंकोच माफी मागेको थिएँ ।’








