काठमाडौं– ‘ओसाका एसियन फिल्म फेस्टिभल २०१२’मा आफू नायक रहेको फिल्म प्रदर्शन गरेर फर्किएका गायक यश कुमार निक्कै खुशी छन् ।‘नेपालमा पनि यति राम्रो फिल्म बन्दोरहेछ भनेर जापानी छक्क परे,’ उनले काठमाडौं फर्केपछि भने । फागुन २६ देखि चैत ५ गतेसम्म चलेको महोत्सवमा जापानी भाषामा सबटाइटल गरी देखाइएको थियो । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म हेरेपछि जापानीसमेत रोएको उनले बताए ।
सयौं फिल्म देखाइएको महोत्सवमा ‘बाटोमुनिको फूल’ विशेष प्रदर्शनीमा थियो । आफ्नो फिल्मलाई जापानस्थित एसियन फ्रेन्डसिप एसोसिएसनले किन्ने इच्छासमेत देखाएको उनले जानकारी दिए । ‘एक जना जापानी नायिकाले नेपाली फिल्म खेल्ने इच्छा देखाएकी छिन्,’ यश कुमारले भने ।
‘बाटोमुनिको फूल’ दलितमाथिको विभेदमा केन्द्रित फिल्म हो । यसमा दुई गायक यश कुमार र बाबु बोगटी नायका भएका छन् । नायिका भने रेखा थापा र नन्दिता केसी छन् ।








