टोकियो – थकाली सेवा समिति जापानले आउदो मार्च महिनाको १८ तारिखका दिन नेपालका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुती रहेको “२१ औं शुभकामना साँझ” तथा लुम्बिनी भ्रमण बर्ष २०१२ को उपलक्ष्यमा होली धमाका कार्यक्रम सम्पन्न गर्न भब्य तयारी गरिरहेको छ ।
प्रत्येक बर्षको मार्च महिनामा पर्ने थकालीहरुको महानपर्व फागु पूर्णिमा “तोरन्ल्ह” को शुभउपलक्ष्यमा थसेस जापानले नेपालदेखि चर्चित कलाकारहरुलाई आमन्त्रण गरी जापानबासी आम नेपाली र जापानीहरुबिच बृहत सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । सोही अनुरुप यस बर्ष “२१ औं शुभकामना साँझ” को रुपमा आगामी मार्चको १८ तारिख आईतबारका दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा उक्त कार्यक्रम हुन गईरहेको हो ।
उत्त कुरा “२१ औं शुभकामना साँझ” आयोजक समितिका संयोजक राजु शेरचनद्धारा प्रेषित बिज्ञप्तीमा जनाईएको छ । बिज्ञप्तीकाअनुसार जापानको समयनुकुल, परिवर्तित सन्दर्भ र दर्शक-श्रोताहरुको चाहनालाई ध्यानमा राखी नेपालका चर्चित हाँस्यब्यङ्ग कलाकार, मेरीबास्सैका जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) तथा ख्यातिप्राप्त पपगायक धिरज राई र सुप्रसिद्ध आधुनिक गायक प्रमोद खरेल गरी चार जनालाई निम्त्याई भब्यरुपमा कार्यक्रम सम्पन्न गर्ने तैयारी गरिरहेको छ । २१ औं शुभकामना साँझका कलाकारहरुको प्रमोशन भिडियो, स्थान, टिकट दर, समयतालिका र पर्चा, पम्पलेटहरु सहितको बिस्तृत जानाकारीहरु जापानमा क्रियाशील नेपाली मिडियाहरुबाट सार्बजनिक भईसकेको कुरा पनि आयोजकहरुले बताएका छन् ।
संस्थाका अध्यक्ष शरदकुमार गौचनका अनुसार “२१ औं शुभकामना साँझ” संगै लुम्बिनी भ्रमण बर्ष २०१२ लाई मध्यनजर राख्दै भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी हो भनेर प्रचारप्रसार गरिने र नेपालको पर्यटन प्रवद्धनको निमित्त नेपाली कला, संस्कृति र नेपाललाई चिनाउने एवं नेपालीपन झंल्किने खालका कार्यक्रमहरुलाई बिशेष महत्व दिईने कुरा बताउदै उक्त कार्यक्रममा सम्पूर्ण जापानबासी नेपाली, जापानीहरु लगायत अन्य महानुभावहरुमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्नुभएको छ । ***








