अब पासपोर्टमा थप भिसाको छाप नलगाईने
टोकियो- आगामी जुलाई महिनादेखि परिबर्तन हुन गईरहेको जापानको अध्यागमन (इमिग्रेशन) सम्बन्धि नियमका बारेमा जानकारी गराउने उद्देश्यले सोमबार टोकियोमा एक बृहत सेमिनार सम्पन्न भएको छ ।
टोकियो क्षेत्रिय अध्यागमन ब्यूरोद्वारा आयोजित सो सेमिनारमा बिदेशीहरुको भिसा सम्बन्धि काम गर्ने ७ सयभन्दा बढि ईमिग्रेशन वकिलहरुको सहभागिता रहेको थियो ।
टोकियोको आकासाकामा भएको सो सेमिनारमा अध्यागमनका उच्चपदस्थ अधिकारीद्वय सिगेतोमो काजुआकी र यजा आकीनोरीले क्रमश: २, २ घण्टाका दरले परिवर्तन हुन गईरहेको अध्यागमननियमका बारेमा प्रकाश पारेका थिए । उक्त कुरा दुई दशकभन्दा लामो समयदेखि ईमिग्रेशन वकिलकारुपमा कार्यरत आकिहाबारा अफिसका प्रमुख साबुरो सिबुकावाले बताए ।
सेमिनारमा जानकारी गराईएअनुसार परिवर्तन हुन गईरहेको नियमअनुसार हाल जापानमा रहेका बिदेशीहरुले नयाँ आवासिय कार्ड प्राप्त गर्नका लागि गत जनवरी १३ तारिखदेखि आवेदन खुल्ला गरिएकोमा हालसम्म २ हजार भन्दा बढि बिदेशीहरुको निबेदन परेको बताईएको छ । ती निबेदकहरुको कार्ड १ महिना भित्र सम्बन्धित ब्यक्तिको ठेगानामा पठाईने हुँदा कार्ड बुझ्नका लागि अध्यागमन कार्यालयमा आउन नपर्ने अधिकारीहरुले जानकारी दिएका छन् । आगामी अप्रिल ९ देखि भने निबेदन दिएकै दिनमा आवासिय कार्ड प्राप्त गर्न सकिने बताईएको छ । ती अधिकारीहरुले जापानको अध्यागमन विभागिय ईतिहासमा अब हुने परिवर्तनलाई ऐतिहासिक परिवर्तन भनेका छन् ।
जापानमा बस्ने बिदेशी नागरिकहरुका लागि हालसम्म सम्बन्धित वार्ड वा सिटी कार्यालयले जारी गर्दै आएको एलियन रजिष्ट्रेशन कार्डको सट्टामा परिवर्तित नियमअनुसार अध्यागमन बिभागले आवासीय कार्ड जारी गर्ने भएको हो । नयाँ नियमअनुसार आवासीय कार्डका साथै भिसाको अवधि र प्रकृतिमा पनि हेरफेर हुने अधिकारीहरुले जानकारी गराए ।
कुनै एक बिदेशी नागरिकको भिसाको प्रकृति अवस्था र उसको ब्यक्तिगत रेकर्ड हेरि ६ महिना, १ बर्ष ३ बर्ष र ५ बर्षको भिसा थप हुने नयाँ नियम लागु हुन गईरहेको पनि उनीहरुले अवगत गराएका छन् । हालसम्मको नियम अनुसार ३ बर्षको भिसा प्राप्त गरिसकेका तर जापान बसाई अवधि १० बर्ष पुग्न लागेका बिदेशी नागरिकहरु स्थायी आवासीय भिसा आवेदनका लागि योग्य मानिने गरिएकोमा अब उप्रान्त ५ बर्षको भिसा प्राप्त गरेका मात्र योग्य हुने वा तीन बर्षको भिसाबाहक पनि योग्य हुने भन्ने बारे भने अधिकारीहरुले तत्सम्बन्धि नियमहरुले अझै पूर्णता पाईनसकेको बताए ।
सेमिनारमा जानकारी गराईएअनुसार हाल सम्म भिसा थप गर्दा सम्बन्धित ब्यक्तिको राहदानीमा भिसा स्टाम्प लगाउने गरिएकोमा अब नयाँ नियम लागुपश्चात राहदानीमा थप भिसाको स्टाम्प नलगाईने भएको छ । मेशिन रिडेबल चिप्स जडित आवासीय कार्डमै सम्बन्धित ब्यक्तिको सबै विवरण उल्लेख गरिने भएकोले थप गरिएको भिसाको अवधि पनि कार्डमै उल्लेख गरिने भएको छ भने पासपोर्टमा कुनै भिसा स्टाम्प लगाईने छैन ।
परिवर्तित अध्यागमनको नियमका बारेमा जानकारी गराउन यस प्रकारका सेमिनार नियमितरुपमा गर्दै जाने पनि अधिकारीहरुले बताएका छन् ।
“परिबर्तन हुन गईरहेको अध्यागमनको नयाँ नियमले बिदेशी नागरिकहरुमा एक प्रकारको हलचल उत्पन्न गराएको छ, यसले अध्यागमन विभागलाई पनि चुनौती थपि दिएको छ, थपिएको कार्यभारलाई समयमै सम्पादन गर्दै जाने कार्यमा यहाँहरुको पनि रचनात्मक सहयोगको अपेक्षा गरेका छौं’ – सेमिनारका प्रस्तोता मध्यका एक सुगेतोमो काजेआकीले भने ।
बिदेशी नागरिकका लागि परिचय पत्रकारुपमा एलियन रजिष्ट्रेशन कार्डको सट्टा परिवर्तित नियमअनुसार आवासीय कार्ड जारी भएपछि बिदेशी नागरिकहरुले पनि अब जापानी नागरिकसरह आवासीय प्रमाण पत्र (जुमिन् ह्यो) प्राप्त गर्न सक्ने भएका छन् ।
अध्यागमनको परिवर्तन हुन गईरहेको नयाँ नियमावली सम्बन्धि कुनै जिज्ञासा भए 090- 3088- 5857 मा सम्पर्क गर्न पनि आकिहाबारा अफिसका प्रमुख साबुरो सिबुकावाले अपिल गरेका छन् । ***