टोकियो – चितवन रत्ननगर निवासी मुटुरोगी १० बर्षिया बालिका अलिसा दुवाडिलाई नयाँ जीवन दिलाउने मानवीय कार्यमा जापानबाट आर्थिक, नैतिक तथा अन्य सहयोग गर्ने महानुभावहरुलाई उक्त अभियान सञ्चालन गर्ने सँस्था उई फर अल (We For All) ले टोकियोमा एक समारोहको आयोजना गरी सम्मान गर्ने भएको छ ।
सो सँस्थाले अलिसाको जीवन बचाउनका लागि बिभिन्न ढंगले सहयोग गर्ने स्वदेशी तथा बिदेशी महानुभावहरुलाई सम्मान गर्न आगामी मार्च ११ तारिख आइतवारका दिन टोकियोमा एक समारोहको आयोजना गर्ने भएको हो ।
मुटुमा प्वाल परी जीवन र मरणको दोसाँधमा सँघर्ष गर्दै आईरहेकी बालिका अलिसालाई बचाउन उक्त सँस्थाले जापानब्यापीरुपमा आर्थिक संकलन अभियान चलाएको थियो । अभियानबाट संकलित रकमबाट बालिकाको सफल शल्यक्रिया भएपछि उनले नयाँ जीवन प्राप्त गरेकी हुन् । यस पवित्र कार्यमा तन, मन र धनले सहयोग र सद्भाव ब्यक्त गर्ने सबै कृपालु महानुभावहरुमा औपचारिकरुपमा धन्यबाद ब्यक्त गर्न र उच्च सम्मान गर्न उक्त कार्यक्रमको आयोजना गरिएको सो सँस्थाका अध्यक्ष सरोज खत्रीले बताए ।
संकलित रकम लिएर अध्यक्ष खत्री आफै नेपाल गई शहिद गंगालाल हृदयरोग केन्द्रमा बालिकाको मुटुको सफल शल्यक्रिया गरिएको थियो ।
“यस मानवीय कार्यमा सहयोग गर्नुहुने नेपाली तथा जापानी दाजुभाइ, दिदिबहिनीहरु एवं बिभिन्न संघसंस्थाहरुमा धन्यबाद ब्यक्त गर्दै उक्त कार्यक्रममा उपस्थित भई हामीलाई अझ धेरै मानवीय सेवामुलक कार्यहरु गर्न थप हौसला प्रदान गर्नु हुन हार्दिक निमन्त्रणा गर्दछौं” – सो सँस्थाका उपाध्यक्ष दीपकबाबु नेपालले भने ।
जापानको महाभूकम्प तथा सुनामी घटनाको पहिलो बार्षिकीको दिन मार्च ११ पारेर हुन गईरहेको सो कार्यक्रममा घटनामा परी दिवंगत भएका ज्ञात-अज्ञात हजारौ आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरिने कार्यक्रम पनि रहेको आयोजकहरुले बताएका छन् ।
कार्यक्रम सम्बन्धित बिस्तृत जानकारी
मितिः ११ मार्च, २०१२ आइतवार
समयः दिउसो १ बजे
स्थानः मियोसीस्थित आर्ट म्युजियमको अडिटोरियम हल
ठेगाना: Tokyo-To, Koutoku-Ku, Miyoshi 4-1-1
Tel: 03-5245-4111
http://www.mot-art-museum.jp/








