टोकियो – मानिस पुरुष होस् या महिला यौन मामिलामा को कति कट्टर, उदार वा कमजोर छ भन्ने कुरा उसको बाहिरी आवरणले बताउँदैन । उसको निजी क्रियाकलाप र बिपरित लिंगप्रतिको उसको दृष्टिकोणबाट भने यस बारेमा धेरथोर तथ्य थाहा पाउन सकिन्छ । यौनकुण्ठा पालेका पुरुषहरुबाट महिलाका संबेदनशील अंगमा लगाउने भित्री कपडाहरु हराउने गरेका समाचारहरु, एकान्तमा भेटिने महिलाप्रति पुरुषद्वारा गरिने ब्यवहार, ठेलमठेल र भिडभाडमा जानाजानी महिला शरिरसंग नजिकिन र खेल्न चाहने पुरुषहरुबाट हुने गरेका यौनजन्य क्रियाकलाप सम्बन्धि समाचार बेलाबेलामा मिडियामा आउने गरेको भएपनि यस्ता सबै घटनाले स्थान पाउने गरेका छैनन् । यसरी हेर्दा यौन मामिलामा महिलाभन्दा पुरुषले आफ्नो कमजोरी प्रदर्शन गरेको बिभिन्न तथ्यहरुबाट प्रमाणित भएको एक अध्ययनले बताएको पाईन्छ ।
यसै सन्दर्भमा हालै कानागावा केनका एक शिक्षकले आफ्नो गोजीमा बोकेको ऐना प्रयोग गरेर भरयाङ चढ्दै गरेकी अगाडिकी एक हाईस्कुलकी छात्राको स्कर्टभित्र नजर लगाउँदा प्रहरीको फन्दामा परेका छन् । ती छात्राको स्कर्टभित्र ऐना प्रयोग गरी चियाएको अभियोगमा काजुतेरु मुरामोतो नाम गरेका ३२ बर्षिय ती शिक्षक अघिल्लो मंगलबार प्रहरीको फन्दामा परेका हुन् । कानागावा केनको जेआर एबिना स्टेशनको स्केलेटर (बिद्युतिय भर्याङ) चढ्ने क्रममा उनले आफु अगाडि रहेकी छात्राको स्कर्टभित्र ऐनाको सहाराले नियालेको प्रहरी श्रोतले बताएको छ । मुरामोतो एक प्राथमिक बिद्यालयका शिक्षक भएको पनि थाहा लागेको छ ।
उनले स्केलेटर चढ्ने क्रममा आफ्नो अगाडि रहेकी छात्राको स्कर्ट माथि सारी आफुसंगै भएको ऐना प्रयोग गरेर नियालेका थिए । उनको यसप्रकारको आपत्तिजनक क्रियाकलाप थाहा पाएपछि स्टेशनका सुरक्षाकर्मीले उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । तर प्रहरी समक्ष भने उनले आफूमाथि लगाइएको दोष झूठो भएको दाबी गरेका छन् ।
टोकियोका सर्बाधिक ब्यस्त रेलमार्गमा अफिस जाने र फ़र्कने समयमा रेलभित्र हुने उच्च भिडभाडमा पनि यौनकुण्ठा पालेका पुरुषहरुबाट महिलाहरुको संबेदनशील अंगमा हातपात (जापानी भाषामा चिकान) हुने गरेको घटना सुनिन्छ । यस प्रकारको घटनामा पीडितको मौखिक उजुरीको आधारमा प्रहरीले दोषीलाई ठाडो कारवाही गर्न सक्ने, जसमा पीडितको दाबीअनुसार अत्यन्त चर्को जरिवाना तिर्नुपर्ने प्रावधान रहेको बताईन्छ । कहिलेकाँही भिडभाडमा खराब नियत भएका महिलाहरुले सोझा सिधा निर्दोष पुरुषहरुलाई पनि परिबन्दमा पारेर जरिवाना तिराउन बाध्य बनाएका घटनाहरु पनि हुने गरेकोले यसप्रकारका घटनाबाट जोगिन भिडभाड एवं ठेलमठेलमा रेलयात्रा गर्दा सकेसम्म दूवै हात माथि रेलिङमा समातेर गर्नुपर्ने यहाँका भुक्तभोगीहरु बताउँछन् । ***