टोकियो – टोकियोस्थित नेपाली राजदूताबासमा आइतवार ६२ औं प्रजातन्त्र दिवस मनाईयो ।
प्रजातन्त्र दिवस कार्यक्रमलाई सम्बोधन गर्दै जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईले प्रजातन्त्रका खातिर सहादत प्राप्त गर्नुभएका ज्ञातअज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गनुभयो । उहाँले मुलुकको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि राजनैतिक स्थिरता हुनुपर्नेमा जोड दिदैं राजनैतिक स्थिरताका लागि सबै क्षेत्रमा अनुशासन र आन्तरिक प्रजातन्त्र सुदृढ हुनुपर्ने बिचार ब्यक्त गर्नुभयो । उहाँले नेपालका राष्ट्रपति डा. रामवरण यादवले स्वास्थ्यउपचारका लागि अस्पताल भर्ना हुनभएका ७८ बर्षिय जापानका सम्राट अकिहितोलाई शिघ्र स्वास्थ्यलाभको शुभकामना सन्देश पठाएको जानकारी पनि दिनुभयो ।
नेपाली राजदूतावासद्वारा आयोजना गरिएको सो प्रजातन्त्र दिवस समारोहमा उपस्थित महानुभावहरुलाई उपनियोग प्रमुख तापस अधिकारीले स्वागत गर्नुभएको थियो । सो अवसरमा एनआरएन जापानका अध्यक्ष ओम गुरुङ, एनआरएन आइसीसी सदस्य अरुणकुमार श्रेष्ठ, एनडिएफ जापानकी अध्यक्ष सिर्जना काफ्ले, नेपाली जनसम्पर्क समितिका सल्लाहकार चिरिञ्जीवी थापा, नेपाली जनप्रगतिशील मोर्चा जापानका महासचिव डा. भूपालमान श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष शरदकुमार गौचन, एनडिएफ जापान टोकियो कमिटीका देवीलाल भण्डारी, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष एवं समुद्रपारि डट कमका प्रधानसम्पादक तिलक मल्ल, न्यू आइटी भेञ्चरका अनिल काफ्ले, जेएमईका कार्यकारी प्रमुख डिपि अर्याल, नेपाल जापान डट कमकी प्रतिनिधि नारायणी आचार्यलगायतका बिभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्ने महानुभावहरुको उपस्थिति तथा प्रजातन्त्र दिवसको उपलक्षमा शुभकामना मन्तब्य रहेको थियो ।
यसैगरी सो समारोहमा राजदूत डा. भट्टराईले केहि हप्ता अगाडि उपचारका लागि आउनुभएका नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको जापान भ्रमणको सिलसिलामा जापानका बिभिन्न राजनैतिक दलका उच्चपदस्थ अधिकारीहरुसंग भेटवार्ता भएको र परराष्ट्रमन्त्रीले जापानका परराष्ट्रमन्त्रीलाई नेपाल भ्रमणको लागि निम्ता दिएको बारेमा जानकारी गराउनु हुँदै निकट भबिष्यमै जापानको उप-परराष्ट्रमन्त्रीको नेपाल भ्रमण हुन लागेको जानकारी पनि गराउनुभएको थियो । ***