टोकियो – शहरको विवाह धेरै खर्चमा तडक भडकसहित गर्ने गरेको त हामी सबैले देखेका नै छौं । हजारौं मानिसलाई बोलाएर करोडौं खर्च गर्ने परम्पराको अहिले विकास भईरहेको छ । तर शहरमा केही त्यस्ता मान्छे पनि भेटिएका छन् जसले विवाहमा लाग्ने सम्पूर्ण खर्च सामाजिक सेवामा प्रयोग गरेका छन् । बिवाहको लागि लाग्ने खर्चलाई सकारात्मक काममा प्रयोग गर्न प्रोत्साहन गर्नका लागि गैर आवसीय नेपाली संघ (एनआरएन) का निवर्तमान अध्यक्ष तथा हालका प्रमुख संरक्षक देवमान हिराचनले आफ्ना छोरा आसुका हिराचनको विवाहमा लाग्ने सम्पूर्ण खर्च एक विद्यालय भवन निर्माणमा प्रयोग गरि छरितो विवाहको उदाहरण दिनुभएको छ ।
छोरा हिराचनको शुक्रबार सम्पन्न विवाह कम खर्चमा सम्पन्न गरि विवाहमा लाग्ने खर्च कास्कीमा रहेको एक विद्यालयको भवन निर्माणमा प्रयोग गर्ने घोषणा हिराचनले गर्नुभएको छ । गरिब वस्ती रहेको स्थानमा विद्यालय मार्फत सेवा गर्ने उद्देश्यको साथ विद्यालय भवन बनाउन लागिएको हिराचनले बताउनुभयो । ‘गरिब जनताहरुको जिवनस्तर उकास्नको लागि र शहरमा बढ्दै गएको विवाहको तडक भडकलाइ नियन्त्रण गर्न नयाँ कामको सुरुवात गरिएको हो ।’ हिराचनले भन्नुभयो । हिराचनले कास्कीको चापाकोट गाविस वडा न ९ को बरंगास्थित पिपलडाली देउराली प्राथमिक विद्यालयको भवन निर्माण गर्ने योजना बनाउनुभएको छ । करिब १४ लाख खर्चमा सो विद्यालयको ७ कोठे पक्की भवन बनाउन लागिएको हो । भवन निर्माण कार्य आगामी चार महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
२०२९ सालमा स्थपना भएको सो विद्यालयको भवन अहिले जिर्ण अवस्थामा रहेको छ । जिर्ण भवनलाई भत्काएर ७ कोठे भवन बनाउने तथा करिब ८ आना जग्गा समेत विद्यालयको लागि खरिद गर्ने र त्यसको लागि लाग्ने सम्पूर्ण खर्च हिराचनले छोराको विवाहमा लाग्ने खर्च कटाएर गर्न लाग्नुभएको हो ।
शहरमा हुने गरेको खर्चिलो विवाहलाई रोकेर सामाजिक कार्यमा लाग्ने प्रथाको विकास गर्नका लागि सो कार्य गर्न लागिएको हिराचनले बताउनुभयो । ‘हामीले उदाहरणको रुपमा मात्र यो कार्य गर्न लागिएको हो’ हिराचनले भन्नुभयो -‘अहिले शहरमा हजारौं मानिस बोलाएर करोडौं खर्च गर्ने प्रचलनको विकास भईरहेको छ । यस्ता कार्य रोकेर विवाहमा लाग्ने खर्च सामाजिक सेवामा प्रयोग गर्न सकिन्छ भन्ने देखाउनको लागि पनि यस्तो कार्य गरिएको हो ।’
हिराचनका छोरा आसुका हिराचनको विवाह यही माघ १३ गते बौद्ध परम्पराअनुसार सम्पन्न भएको थियो । विवाहमा लाग्ने खर्च दुबै (केटा र केटी) पक्षबाट कटाएर सामाजिक सेवामा प्रयोग गर्न लागिएको हो ।
विवाहको खर्च कटाएर समाजिक कार्यमा खर्च गर्नको लागि हिराचनका छोरा आसुका हिराचन र बुहारी अञ्जु हिराचनले समेत योजना बनाउनुभएको थियो । विवाहको खर्च कटाएर बनाईएको विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरि हस्तान्तरण समेत छोरा बुहारीले गर्ने योजना बनाईएको छ । ***