Deneme Bonusu Veren Siteler
शुक्रबार, असार १९, २०८३
Friday, July 3, 2026

टोकियो – टोकियोको सुमिदा वार्डस्थित सान-इकुकाइ अस्पतालले सञ्चालनमा ल्याएको ‘बेबी ह्याच’ (शिशु सुरक्षित रूपमा छोड्ने विशेष स्थान) मा एक वर्षको अवधिमा २० जना नवजात शिशुहरू छोडिएको पाइएको छ । सन् २०२५ मार्च ३१ देखि सुरु गरिएको यस सेवामार्फत पालनपोषण गर्न असमर्थ अभिभावकहरूले आफ्ना शिशुलाई अज्ञात रूपमा अस्पतालको संरक्षणमा छोड्न पाउँछन् ।

अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार, अस्पतालमा छोडिएका अधिकांश शिशुहरू जन्मेको २४ घण्टाभित्रै त्यहाँ पुर्‍याइएका थिए । यो सेवा मुख्यतया चार हप्तासम्मका शिशुहरूका लागि लक्षित छ ।

शिशु सुरक्षित रूपमा छोड्ने व्यवस्थाका साथै अस्पतालले ‘कन्फिडेन्सियल बर्थ’ (गोप्य सुत्केरी) प्रणाली पनि कार्यान्वयनमा ल्याएको छ । यसअन्तर्गत आमाले आफ्नो पहिचान केवल तोकिएका सीमित स्वास्थ्यकर्मीलाई मात्र खुलाएर सन्तान जन्माउन सक्छन् । अस्पतालका अनुसार हालसम्म २० जना महिलाले यस सेवाका लागि परामर्श लिएका छन् भने तीमध्ये ७ जनाले सोही प्रक्रियामार्फत सुरक्षित रूपमा बच्चा जन्माएका छन् ।

टोकियोको यो ‘बेबी ह्याच’ जापानभरिकै दोस्रो ठूलो पहल हो । यसअघि सन् २००७ मा कुमामोटो सहरको जिकेई अस्पतालले ‘कोनोतोरी नो युरिकागो’ (हाडफोर चराको कोक्रो) नामबाट पहिलोपटक यस्तो सेवा सुरु गरेको थियो । गत वर्षसम्मको तथ्याङ्कअनुसार कुमामोटोमा करिब १७० जना बेवारिसे शिशुहरूलाई संरक्षण दिइसकिएको छ ।

सान-इकुकाइ अस्पताल एक प्रतिष्ठित सामाजिक कल्याण निगमद्वारा सञ्चालित छ । अस्पतालको भुईँतलामा एउटा विशेष कोठा तयार गरिएको छ, जहाँ अभिभावकले टोकरीमा शिशुलाई राख्न सक्छन् । शिशु छोडिएलगत्तै अस्पतालले उनीहरूको स्वास्थ्य परीक्षण र प्रारम्भिक रेखदेख गर्छ। त्यसपछि बाल परामर्श केन्द्रको समन्वयमा ती शिशुहरूलाई शिशु गृह वा धर्मपुत्र (एडोप्सन) का लागि इच्छुक परिवारसँग जोड्ने प्रक्रिया अगाडि बढाइन्छ ।

विज्ञहरूका अनुसार जापानको राजधानी टोकियोमा पछिल्ला वर्षहरूमा गरिबी, घरेलु हिंसा, र मानसिक समस्याका कारण अनिच्छित गर्भधारण गर्ने महिलाहरूको सङ्ख्या बढ्दै गएको छ । शिशुलाई असुरक्षित ठाउँमा फाल्ने वा हत्या गर्ने जस्ता जघन्य अपराध रोक्न र नवजात शिशुको जीवन रक्षा गर्न यस्तो संयन्त्र अपरिहार्य देखिएको हो ।

तपाईको प्रतिक्रिया