समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले साउनदेखि काठमाडौँ उपत्यकामा साझा यातायातका केही बसको रङ परिवर्तन गरी ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ। शासकीय सुधारका १०० कार्यसूचीअन्तर्गत ल्याइएको यो योजनाका लागि चालु आर्थिक वर्षको बजेटमा आवश्यक रकम छुट्याइएको छ। बजेट स्वीकृत भएपछि सेवा सुरु गरिने भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा ८ वटा बस सञ्चालन हुनेछन्। बुढानीलकण्ठ–गोदावरी, नागढुंगा–विमानस्थल तथा चक्रपथमा क्लकवाइज र एन्टी–क्लकवाइज गरी विभिन्न रुटमा बस चलाइनेछ। साझा यातायातले रुट व्यवस्थापनको काम अघि बढाइसकेको छ। मन्त्रालयसँग सम्झौता भएपछि बसको रङ परिवर्तन गरी १०–१५ दिनभित्र सेवा सुरु गर्ने तयारी रहेको जनाएको छ।
यो सेवा महिलाका लागि लक्षित हुनेछ र उनीहरूले निःशुल्क यात्रा गर्न पाउनेछन्। सञ्चालन खर्च सरकारले नै व्यहोर्नेछ। प्रारम्भिक रूपमा बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म बस सञ्चालन हुनेछ भने साझा यातायातका अन्य सेवा भने यथावत् रहनेछन्। भविष्यमा यो सेवा प्रदेशहरूमा पनि विस्तार गर्ने सरकारको योजना छ।








