समाचार सुन्नुहोस :
काठमाडौँ – जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेकी छन्। भारत भ्रमणप्रति उत्साह व्यक्त गर्दै उनले न्यानो स्वागतका लागि भारतीय पक्षलाई धन्यवाद दिएकी छन्। जापान सरकारले सामाजिक सञ्जाल एक्समार्फत भारतले गरेको स्वागतको प्रशंसा गर्दै भ्रमणप्रति खुशी व्यक्त गरेको छ।
नयाँ दिल्ली पुगेपछि प्रधानमन्त्री ताकाइचीलाई भारतका विज्ञान तथा प्रविधि राज्यमन्त्री जितेन्द्र सिंहले स्वागत गरेका थिए। उनले जापानी प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा गौरव महसुस भएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ताकाइचीको भ्रमणले भारत–जापानबीचको विशेष रणनीतिक तथा विश्वव्यापी साझेदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनले दुवै देशको सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रसहित विश्वमा शान्ति, स्थिरता र समृद्धि प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन्।
प्रधानमन्त्री ताकाइचीले वर्तमान विश्व परिस्थितिमा भारतसँगको सहकार्य झन् महत्वपूर्ण बनेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।








