Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – अमेरिकी डलरको तुलनामा जापानी मुद्रा ‘येन को तीव्र अवमूल्यन रोक्न जापान सरकारले मुद्रा बजारमा हस्तक्षेप गरेको छ । झन्डै दुई वर्ष (१ वर्ष १० महिना) को अन्तरालमा जापानले येनको मूल्य जोगाउन विदेशी मुद्रा बजारमा सिधा हस्तक्षेप गरेको यो पहिलोपटक हो ।

बिहीबार टोकियो बजारमा येन कमजोर भई प्रति डलर १६०.७२ सम्म पुगेको थियो, जुन जुलाई २०२४ पछिको सबैभन्दा कमजोर विन्दु हो । तर, सरकारको हस्तक्षेप लगत्तै केही घण्टामै येनको मूल्यमा नाटकीय सुधार आएको छ। सरकारको कदम लगत्तै १६० को तहमा पुगेको येन नाटकीय रूपमा सुधार भई १५५ को आसपास आइपुगेको छ । तर, विज्ञहरूले यसलाई ‘अल्पकालीन राहत’ मात्र भएको र आधारभूत समस्या समाधान नभएसम्म येनमाथिको दबाब कायमै रहने विश्लेषण गरेका छन् ।

बिहीबार बिहानैदेखि येनको भाउ ओरालो लाग्ने क्रम तीव्र थियो। विशेषगरी मध्यपूर्वमा जारी इरान र इजरायलबीचको युद्धका कारण विश्वभरका लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा अमेरिकी डलरतर्फ आकर्षित भए । यसले येनलाई मात्र होइन, अन्य प्रमुख मुद्राहरूलाई पनि दबाबमा पार्यो । तर, जापानका लागि १६० को तह एउटा गम्भीर ‘मनोवैज्ञानिक खतरा’ को विन्दु थियो ।

जब येनले १६० को विन्दु पार गर्‍यो, अर्थमन्त्री सात्सुकी कातायामा र जापानका प्रमुख मुद्रा कूटनीतिज्ञ अत्सुशी मिमुराले आक्रामक प्रतिक्रिया दिए । अर्थमन्त्री कातायामाले यसअघि नै ‘निर्णायक कदम’ चाल्ने चेतावनी दिँदै आएकी थिइन् भने मिमुराले यसलाई ‘अन्तिम चेतावनी’ को संज्ञा दिएका थिए । सरकारको चेतावनी केवल बोलीमा मात्र सीमित नरहेर व्यवहारमा देखिएपछि केही घण्टामै येन ५ येनले बलियो भयो ।

किन कमजोर भइरहेछ येन ? 
येन कमजोर हुनुको मुख्य कारण जापान र अमेरिकाको केन्द्रीय बैंकबीचको नीतिगत भिन्नता हो । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ ले उच्च मुद्रास्फीति नियन्त्रण गर्न आफ्नो ब्याजदरलाई उच्च तहमा राखेको छ । अर्कोतर्फ, ‘बैंक अफ जापान’ले दशकौँको मन्दीबाट तंग्रिन खोजिरहेको जापानी अर्थतन्त्रलाई टेवा दिन ब्याजदरलाई निकै न्यून (शून्यको आसपास) राखेको छ ।

जब दुई देशबीचको ब्याजदरमा ठूलो अन्तर हुन्छ, लगानीकर्ताहरूले कम ब्याज हुने ‘येन’ बेचेर बढी प्रतिफल दिने ‘डलर’ खरिद गर्छन् । यही ‘ब्याजदरको अन्तर’ नै येनको अवमूल्यनको मुख्य कारक हो । यसै साता भएका दुवै देशका केन्द्रीय बैंकका बैठकहरूले ब्याजदरमा कुनै परिवर्तन नगरेपछि बजारमा डलरको माग झनै बढेको थियो ।

फेब्रुअरीको अन्त्यदेखि सुरु भएको इरान-इजरायल युद्धले विश्वभर ऊर्जा संकटको त्रास बढाएको छ । जापान जस्तो ऊर्जाका लागि पूर्णतः आयातमा निर्भर देशका लागि तेलको मूल्य बढ्नु भनेको थप डलर बाहिरिनु हो । यस्तो अनिश्चितताको समयमा डलरलाई ‘सुरक्षित आश्रय’ मानिने हुनाले अन्तर्राष्ट्रिय बजारमा डलरको प्रभुत्व कायम छ, जसको प्रत्यक्ष मार येनले भोगिरहेको छ ।

जापानले यसअघि जुलाई २०२४ मा पनि येन १६२ को ऐतिहासिक न्यून विन्दुमा पुग्दा ३५ अर्ब डलरभन्दा बढी खर्च गरेर बजारमा हस्तक्षेप गरेको थियो । त्यसबेलाको हस्तक्षेपले केही समयका लागि येनलाई थामेको थियो । अर्थविद्हरूका अनुसार, जबसम्म बैंक अफ जापानले आफ्नो कडा मौद्रिक नीतिमा परिवर्तन गर्दैन र ब्याजदर बढाउँदैन, तबसम्म येनमाथिको सट्टाबाजी रोकिने छैन ।

येन कमजोर हुँदा जापानका निर्यातमुखी कम्पनीहरूलाई फाइदा भए पनि सर्वसाधारणका लागि यो महँगीको कारण बनेको छ । खाद्यान्न र इन्धन आयात महँगो हुँदा जापानीहरूको क्रयशक्ति घट्दो छ । सरकारले गरेको बिहीबारको हस्तक्षेपले केही समयका लागि डलरका सट्टेबाजहरूलाई त्रसित बनाएको छ, तर अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति र मध्यपूर्वको युद्ध अझै अनिश्चित रहेकाले जापानका लागि आगामी दिनहरू निकै चुनौतीपूर्ण देखिन्छन् ।

तपाईको प्रतिक्रिया